काठमाडौं ।
कोरोना (कोभिड १९) बीमाबापत हालसम्म बीमा कम्पनीहरुले तीन अर्ब ७६ करोड ८२ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । बीमा समितिका सूचना अधिकृत डेपुटी डाइरेक्टर निर्मल अधिकारीका अनुसार यही माघ २७ गतेसम्ममा कोरोना बीमासम्बन्धी कागजात पूरा गरेकामध्ये तीन हजार आठ सय सात जना बीमितहरुलाई उक्त रकम भुक्तानी दिइएको हो ।
कोरोना बीमा दाबी गर्नेहरुमध्येका तीन हजार सात सय २१ वटा फाइल भने दाबी भुक्तानीको लागि स्वीकृतिको चरणमा रहेको सूचना अधिकृत अधिकारीले बताएका छन् । यीबाहेक नौ हजार दुई सय १५ वटा कोरोना बीमासम्बन्धी फाइल स्वीकृतिको क्रममा स्वास्थ्य मन्त्रालयमा रहेका छन् भने दुुई हजार १० वटा फाइल समितिले स्वास्थ्य मन्त्रालयमा पठाउन तयार पारेर राखेको छ । डकुमेन्ट पूरा भएका कुुल फाइलमध्ये तीन हजार चार सय ३६ वटा फाइल भने सम्बन्धित बीमा कम्पनीहरुमा फिर्ता पठाएको छ । अधिकारीका अनुसार कोरोना बीमादाबीको लागि आवश्यक कागजात नपुगेकै कारण ती फाइलहरु फिर्ता भएका हुुन् ।
कोरोना बीमाको दाबी गरिएका कुुल फाइलमध्ये चार सय ३० वटा भने आवश्यक कागजात पूरा नगरेका र दोहोरो मागदाबी पेस गरेका कारण पनि तीन फाइलहरुको भुक्तानी हुुन नसक्ने उनले बताए । हालसम्म दाबी भुक्तानी माग गरिएका फाइलमध्ये आठ हजार छ सय ४३ वटा फाइलहरु भने भेरिफिकेसनको प्रक्रियामा रहेको जानकारी पनि सूचना अधिकृत अधिकारीले दिए । कोरोना बीमासम्बन्धी १८ हजार आठ सय ८६ वटा फाइल स्वास्थ्य मन्त्रालयमा पठाएको र यीमध्ये नौ हजार छ सय ७१ वटा फाइल स्वीकृत भएका छन् ।