नयाँ दिल्ली ।
कोरोना भाइरसविरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ । भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप प्रदान गरेको हो ।
“भारतले आजको मितिसम्म दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप विश्व समुदायलाई प्रदान गरेको छ,” विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने । उनका अनुसार विश्व समुदायलाई दिइएको कुल खोपमध्ये झण्डै ६४ लाख ७० हजार खोप निःशुल्क वितरण गरिएको हो भने एक करोड ६५ लाख खोप आर्थिक कारोबारसहित प्रदान गरिएको हो ।
माग गर्ने अन्य देशहरुलाई पनि आगामी दिनमा समेत खोप उपलब्ध गराउने भारतले योजना बनाएको प्रवक्ता श्रीवास्तवले जानकारी दिए । भारतले अफ्रिका, ल्याटिन अमेरिका र प्रशान्त द्विपलगायतका क्षेत्रका देशहरुलाई खोप प्रदान गर्न चाहेको उहाँको भनाइ छ । भारतमा कोरोना भाइरसको विरुद्धमा कोभिशिल्ड नाम खोप विकास गरी लगाउन थालिएको हो । यो खोप विश्वमा धेरै प्रयोग भएका खोपहरुमध्येमा पर्दछ ।