काठमाडौं ।
केरुङ नाकामा आयात तथा निर्यात सहज बनाउन पहल गर्न नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ । कांग्रेसले आइतबार एक विज्ञप्ति जारी गर्र्दै चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आवागमनको समस्या समाधान खोज्न सरकारसँग माग गरेको हो । उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केङमा सहज नहुँदा नागरिक र व्यवसायीले दुःख पाइरहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकामा प्रवेशमा कडाइ र आवागमन बन्द गरिएको थियो ।
विसं २०७६ माघ १५ देखि असार २७ गतेसम्म पूर्णरूपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक पाँच कन्टेनरले मात्र प्रवेश पाउँदा एक हजार पाँच सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा रहेका छन् । यसबाट एकातर्फ नेपाली व्यवसायी मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।