बैंग्लोर ।
अर्बपति एलन मस्कको टेस्ला इन्कले दक्षिण भारतमा कारखाना स्थापना गर्ने भएको छ । कम्पनीले कर्णाटक राज्यमा उत्पादन युनिट स्थापना गर्न लागेको एजेन्सीहरुले जनाएका छन् । कर्णाटकमा कम्पनीले विद्युतीय कारहरुको उत्पादन गर्ने राज्य सरकारले जनाएको छ । गत महिना टेस्ला मोटर्स इन्डिया र इनर्जी प्राइभेट लिमिटेडले बेंग्लोरमा कार्यालय दर्ता गरेका थिए । कर्णाटकलाई विश्व प्रविधि कम्पनीहरुले हब नै बनाएका छन् ।
मस्कले धेरैपटक कम्पनी भारतीय बजार प्रवेश गर्ने बताउँदै आएका थिए । गत डिसेम्बरमा टेस्ला सीईओ समेत रहेका मस्कले सन् २०२१ मा टेस्ला भारतमा सार्वजनिक गर्ने बताएका थिए । भारतले पेट्रोलियम इन्धनमाथिको निर्भरता कम गर्दै प्रदूषण घटाउन चाहिरहँदा विद्युतीय कार कम्पनीले भारतमै उत्पादन थाल्ने निश्चित भएको हो । भारतले चार अर्ब ६० करोड डलर अनुदान दिएर कम्पनीहरुलाई उन्नत ब्याट्री विकासमा लगानी गर्न प्रोत्साहन गर्ने बताउँदै आएको छ ।