काठमाडौं ।
नेपालको रेलवे विस्तारमा लगानी गर्न रसिया इच्छुक देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङसँग सोमबार भेट गर्दै नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले रेलवे विस्तारमा लगानी गर्न रसिया इच्छुक रहेको बताए ।
साथै रसियन रेलवेको तर्फबाट मन्त्रालयमा आशयपत्र समेत बुझाइएको छ । राजदूत नोभिकोभले रसिया र अन्य विश्वको विभिन्न मुलुकमा रेलसम्बन्धी रसियन टेक्नोलोजी उत्कृष्ट रहेको बताउँदै नेपालको लागि समेत कोशेढुगा हुने बताए । पहाडी इलाकामा रसियन रेलवे टेक्नोलोजी जापानले अपनाएको उल्लेख गर्दै उनले नेपाललाई समेत प्रविधि हस्तान्तरण गर्न रसिया तयार रहेको बताए ।
भेटमा मन्त्री नेम्बाङले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देशबीचमा समन्वयन भइ कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताए । काठमाडौँको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको तर प्रविधि र दक्ष जनशक्तिका साथै लगानीको समेत अभाव रहेको उल्लेख गर्दै हाल मेट्रो रेलको रेखाङ्कन, पूर्वसम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना रिर्पोट (डीपीआर) समेत तयारी भइसकेको र सो दस्तावेज रसियन पक्षलाई उपलब्ध गराउन तयार रहेको उनले बताए । उनले रसियन पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको उल्लेख गरे ।
भेटमा द्विपक्षीय हित तथा पारस्पिरिक सम्बन्धका बारेमा छलफल हुनका साथै रुसी सहयोगमा निर्माण भएका विगतका परियोजनाहरू कान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर सिगरेट उद्योग, कृषि औजार कारखाना, विरगञ्ज सुगर मिल र रोजिन एण्ड टर्पाइन प्लान्टबारे समेत छलफल भएको थियो । उक्त भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सहसचिव रामहरी पोखरेल, रेल विभागका महानिर्देशक प्रमिलादेवी बज्राचार्य सहभागी थिए ।