काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थी समस्या समयावधि किटान गरेरै टुङ्ग्याउन जोड दिएका छन् । प्रधानमन्त्रीसँग शरणार्थीका लागि राष्ट्र संघीय उच्च आयुक्तको कार्यालयको नेपालस्थित प्रतिनिधिमण्डलले मंगलबार गरेको भेटमा प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भुटानी शरणार्थीको व्यवस्थापनबारे चासो राखेकी थिइन् ।
प्रधानमन्त्री ओलीले हालसम्म भुटानी शरणार्थीको यथोचित प्रबन्धका लागि शरणार्थीका लागि राष्ट्र संघीय उच्च आयोगबाट प्राप्त सहयोगका लागि धन्यवाद प्रकट गर्दै बाँकी शरणार्थीको व्यवस्थापनका लागि पनि पूर्ववत् सहयोग रहने विश्वास व्यक्त गरिन् । आफ्नै समस्याहरूसँग जुधिरहेको विकासोन्मुख देश नेपालले यसलाई समयबद्ध ढंगले व्यवस्थापन गर्न चाहेको भनाइ प्रधानमन्त्रीको थियो ।
प्रधानमन्त्रीले शरणार्थी समस्या समाधानका लागि उनीहरूकै देशमा ससम्मान फिर्तीलाई पहिलो प्राथमिकतामा राखेको बताए । त्यसो हुन नसके विकल्पमा तेस्रो मुुलुकमा स्थानानान्तरण र त्यसबाट पनि बाँकी रहेका शरणार्थीहरूको व्यवस्थापन नेपालमै गर्नका लागि समेत गरी तीनवटै विकल्पमा कार्य गर्न नेपाल सरकार खुला रहेको उनको भनाइ थियो । यसका लागि उच्चायोगबाट सहयोग प्राप्त हुने उनले विश्वास व्यक्त गरे । जवाफमा वर्माले शरणार्थी व्यवस्थापनसम्बन्धी सहयोग निरन्तर गर्नेबारे उच्चायोग सकारात्मक रहेको बताइन् ।