काठमाडौं ।
कुमारी बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता भएको छ । बैंकले धुलिखेल, बनेपास्थित एक प्रसिद्ध तीनतारे होटेल, आगन्तुक रिसोर्टबीच आफ्ना ग्राहकवर्गलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता गरेको हो । सम्झौतापश्चात् कुमारी बैंकका ग्राहक वर्गले सोही रिसोर्टमा विभिन्न रेष्टुरेन्ट तथा आउटलेटहरूमा खानपिनमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी, सोही रिसोर्टमा कुमारी बैंकका खातावाल सेवाग्राहीहरूले स्वास्थ्य क्लब सदस्यता, रुम शुल्क, स्विमिङ पुल उपयोगमा भने १० प्रतिशत छुटको लाभ उठाउन सक्नेछन् ।
जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा ऊर्जा पूणर्जागरणका लागि विश्राम तथा मनोरञ्जन अत्यावश्यक रहेको र सहरीया जीवनको व्यस्तताबाट राहतको लागि सो रिसोर्टको बसाइ लाभदायक बन्न सक्ने बैंकको विचार रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्यमार्फत आगन्तुक रिसोर्टका विभिन्न सेवाहरूमा बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।
सो सम्झौतापत्रमा कुमारी बैंककी बनेपा शाखा प्रबन्धक नविना वैद्य र आगन्तुक रिसोर्टका कार्यकारी अधिकृत हरिप्रसाद नेपालले हस्ताक्षर गरेका छन् । बैंकले हाल आफ्ना देशव्यापीरूपमा फैलिएका एक सय ९२ शाखा सञ्जाल, एक सय ६२ एटीएम, २२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।