काठमाडौं ।
लगानीकर्ता संघ संगठनका प्रमुख र नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाबीच छलफल भएको छ । बोर्डका उच्च अधिकारीबीच बुधबार बोर्डको कार्यालयमा धितोपत्र बजारको समसामयिक अवस्था र बजार विकास तथा विस्ताका लागि बोर्डले गरेका कार्यका विषयमा छलफल भएको हो । उक्त छलफलमा उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेल, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजीबजार संघका अध्यक्ष राधा पोखरेल, लगानीकर्ता दवाव समूहका संयोजक हरिढकालको उपस्थिति रहेको थियो ।
छलफलका क्रममाबोर्ड अध्यक्ष ढुंगानाले पछिल्लो समय धितोप त्रबजारमा भएको प्रविधिको विकाससँगै प्राथमिक र दोस्रो बजारमा लगानीकर्ताको पहँुच विस्तार भई बजार गतिशील भएको बताउँदै कोरोना महामारीको प्रभावको बीचमा समेत आर्थिक क्रियाकलाप चलायमान बनाउन धितोपत्र बजारले महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले दोस्रो बजार कारोबार सहज भएको तथा विगत लामो समयदेखि अन्यौल रहेको पुँजीगत लाभकरको विषय स्पष्ट भएसँगै लगानीकर्ताको मनोबल बढेको बताउँदै बजारको स्थायित्वका लागि संस्थागत लगानीकर्ताको बलियो उपस्थिति हुनुपर्ने र यसका लागि बोर्डले उपयुक्त कानुनी व्यवस्था गरेपश्चात् संस्थागत लगानीकर्ताको प्रवेश भइरहेको विचार व्यक्त गरे । उनले सामाजिक सुरक्षा कोष तथा अन्य कोषलाई धितोपत्र बजारमा प्रवेश गर्न आवश्यक सहजीकरण भइरहेको, गैरआवासीय नेपालीको धितोपत्रबजार प्रवेश सम्बन्धमा बोर्डले बाह्य विज्ञमार्फत अध्ययन गराइरहेको र निकट भविष्यमा नै सोसम्बन्धी प्रतिवेदन पेश हुने बताए ।
त्यस्तै, उनले सूचीकृत संगठित संस्थाको विवरण प्रवाह थप पारदर्शी बनाउने, लगानीकर्ताको पहुँच विस्तार गर्ने, अन्य नियामक निकायसँग समन्वय गर्ने, लगानीकर्ता संरक्षण कोषको प्रभावकारी सञ्चालन गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयसँग समेत समन्वय गरी आवश्यक कार्य अगाडि बढाउनेलगायतका कार्य भइरहेको बताए ।
छलफलमा लगानीकर्ता संघ संगठनका प्रमुखहरूले वर्तमान धितोपत्र बजारको अवस्थाको समीक्षा गर्दै पछिल्लो समयको प्रगतिमा सन्तोष व्यक्त गरे र साना लगानीकर्ताको हितहुने गरी नीति तर्जुमा गर्न बोर्डलाई सुझाव दिँदै अनलाइन प्रणालीको सुधार, सर्वसाधारणको लगानी आकर्षण गर्न आवश्यक पूर्वाधारको व्यवस्था, ब्रोकरको पहुँच विस्तार तथा लगानीकर्ता साक्षरतालगायतका विषयमा बोर्डले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।