काठमाडौं ।
मुलुकको उद्योग क्षेत्रमा गरिने लगानी रकममा २४ प्रतिशत अर्थात् करिब २७ अर्बले कमी आएको छ । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा गत आवको सोही अवधिमा भन्दा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूमार्फत मुलुकको उद्योग क्षेत्रमा गरिने लगानीमा २७ अर्ब ३९ करोड ९० लाख रुपैयाँले कमी आएको उद्योग विभागले जानकारी दिएको छ ।
चालू आवको सात महिनाको अवधिमा स्वदेशी तथा विदेशी उद्योगी अर्थात् लगानीकर्ताले उद्योगमा लगानी गर्ने भन्दै विभागबाट ८२ अर्ब ३३ करोड ७९ लाख रुपैयाँ लगानी स्वीकृत गराएका छन् । यस्तै गत आवको सोही अवधिमा भने उद्योग स्थापना गर्ने भन्दै उनीहरूले विभागबाट एक खर्ब नौ अर्ब ७३ करोड ६५ लाख लगानी स्वीकृत गराएका थिए ।
चालू आवको सात महिनाको अवधिमा गत आवको सोही अवधिको तुलना गर्दा ऊर्जामा लगानी बढ्दा अन्य उद्योग अर्थात् कृषि तथा वन पैदावर, सूचना, सञ्चार तथा प्रविधि, उत्पादन, सेवा र पर्यटनमूलक उद्योगहरूमा गरिने लगानीमा कमी आएको छ । चालू आवको समीक्षा अवधिमा लगानीकर्ताहरूले विभागबाट ऊर्जामा ६१ अर्ब ४८ करोड ७८ लाख, उत्पादनमा सात अर्ब दुई करोड ८१ लाख, कृषि तथा वन पैदावरमा तीन अर्ब ५५ करोड, पर्यटनमा चार अर्ब २६ करोड ५७ लाख लगानी गर्ने भन्दै विभागबाट लगानी स्वीकृत गराएका छन् ।
यस्तै उनीहरूले चालू आवको सोही अवधिमा सेवामा तीन अर्ब ६५ करोड ७८ लाख, खनिजमा १२ करोड ३४ लाख, पूर्वाधारमा एक अर्ब ५७ करोड ४४ लाख र सूचना, सञ्चार तथा प्रविधिमा ६५ करोड लगानी गर्ने भन्दै विभागबाट लगानी स्वीकृत गराएका छन् । योसँगै लगानीकर्ताहरूले सात महिनाको अवधिमा सबैभन्दा बढी लगानी ऊर्जामा र सबैभन्दा कम खनिजजन्य उद्योगमा गरेका छन् । उनीहरूले सो लगानी स्वीकृत एक सय १९ वटा उद्योग स्थापना तथा छ हजार नौ सय चार जनालाई रोजगारीसहित गरेका हुन् ।
लगानीकर्ताहरूले चालू आवमा क्रमशः १६ वटा ऊर्जा, १४ वटा कृषि तथा वन पैदावारजन्य उद्योगमा र पाँचवटा सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित, ३३ वटा उत्पादनमूलक, २५ वटा सेवामूलक, २४ वटा पर्यटनमूलक र एक÷एक वटा पूर्वाधार र खनिजजन्य उद्योगमा उक्त लगानी स्वीकृत भएको छ ।
यस्तै गत आवको सोही समयमा उनीहरूले ६७ अर्ब ६४ करोड ७४ लाख ऊर्जामा, १४ अर्ब ४६ करोड ३९ लाख उत्पादनमूलकमा, ७४ करोड १४ लाख कृषि तथा वन पैदावारमा, १७ अर्ब ५३ करोड ४२ लाख पर्यटनमा, छ अर्ब ७४ करोड पाँच लाख सेवामा र दुई अर्ब ६० करोड ९० लाख सूचना, प्रसारण तथा सञ्चार प्रविधि उद्योगमा लगानी गर्ने बताएका थिए । यस्तै गत आवमा उनीहरूले स्वीकृत गराएको लगानी रकम दुई सय १२ वटा उद्योग स्थापना तथा १३ हजार छ सय १३ जनालाई रोजगारी दिनेसहित हो ।
यसरी समीक्षा अवधिलाई हेर्दा गत आवको तुलनमा चालू आवमा लगानीका साथै, उद्योगको संख्या र रोजगारीमा समेत कमी आएको छ । उल्लेखनीय रुपमा ऊर्जा र पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताहरूले विशेष चासो दिने भए पनि कोरोना महामारी न्यून नहुँदा विदेशी लगानीकर्ताहरू भने अझै आउन नसकेको अवस्था रहेको छ भने स्वदेशी लगानीकर्ताहरूको हकमा भने अधिकांश लगानीकर्ताहरूले उद्योगमा लगानी गरी नसकेको अवस्था रहेको विभागका अधिकारीहरूको भनाइ छ । अधिकारीहरूको अनुसार महामारीका कारण नाकाहरू सुचारु भएका छैनन् ।
अझै पनि कामदारहरू अर्थात् ढुवानीकर्ताको अभाव हुँदा उद्योग सञ्चालन गरेर अघि बढ्ने अवस्था नहुँदा केही स्वदेशी लगानीकर्ताहरू पर्ख र हेरको स्थितिमा हुँदा लगानी रकममा कमी देखिएको हो । नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि सहज भए पनि ऊर्जाको व्यापारलाई लिएर अन्योलपूर्ण स्थिति रहँदा लगानी बढ्न नसकेको ती अधिकारीहरूको भनाइ छ । नेपालको उद्योग क्षेत्रमा लगानी गर्नको लागि विदेशी लगानीकर्ताहरू भने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुरुप आउने गर्छन् ।