काठमाडौं ।
नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्बको कोष स्थापनाको तयारी गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएन)ले एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको दर्ता प्रक्रिया सुरु गरेको छ । डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता गर्नको लागि काठमाडौँमा उपलब्ध संस्थापकहरूले दर्ता कागजातमा बिहीबार हस्ताक्षर गरेका छन् ।
संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारीलगायत डा. खगेन्द्र जीसी, चिरञ्जिीवी थापाले प्रबन्ध पत्रमा हस्ताक्षर गरेका हुन् । यो कम्पनीमार्फत नै नेपालमा कम्तीमा १० अर्ब लगानी नेपाल ल्याउने संघको तयारी छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्बभन्दा बढी रकमको प्रतिबद्धता आइसकेको संघले जनाएको छ ।
हस्ताक्षर कार्यक्रममा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपालीले देखेको सपना छिट्टै पूरा हुन लागेको बताए । कम्पनी दर्ताका लागि औपचारिक रुपमा मिलेको सहमतिहरुले गैरआवासीय नेपालीहरुलाई उत्साहित बनाएको उनको भनाइ थियो । नेपालमा लगानी गर्नका लागि यसले बाटो खुला गरेको उनले बताए । कुनै पनि देशको समृद्धिका लागि सामूहिक लगानी आवश्यक भएकोले यस अभियानमार्फत विश्वभरका हरेक नेपालीले व्यक्तिगत लगानी गरेर नेपालको विकास र समृद्धिमा योगदान गर्न सक्ने उनले बताए । उनले मन खोलेर नेपालमा लगानी गर्नका लागि आग्रह समेत गरे ।
नेपालमै पहिलो पटक यस्तो ठूलो राशिको लगानी हुन लागेको भन्दै उनले यो सुरुवातले गैरआवासीय नेपालीले अपनत्व महसुस गर्न पाउने बताए । कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछानेले यस अभियानमार्फत विशेषतः साना लगानीकर्तालाई प्रोत्साहन गर्ने उल्लेख गरे । नेपालमा लगानी गर्न चाहने हर कोही गैरआवासीय नेपालीले यस अभियानमार्फत आफ्नो सानो सानो पुँजी पनि लगानी गर्न सक्ने उनले बताए ।
नेपालमा यति ठूलो लगानी पहिलो पटक हुनलागेको भन्दै कालान्तरमा यसमार्फत ठूलो उपलब्धि हासिल गर्न सक्ने उनको भनाइ थियो । यस्तै अध्यक्ष कुमार पन्तले नेपालका लागि बहुप्रतिक्षित र ऐतिहासिक दिन भन्दै गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि योगदान गर्ने बाटो खुलेको बताए । स्वदेशको विकास र समृद्धिमा योगदान गर्ने अभियानअन्तर्गतको एक महत्वपूर्ण योजनाले लामो समयको प्रयासपछि मूर्तरूप प्राप्त गर्ने चरणमा पुगेको उनको भनाइ थियो ।
१० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात् ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाएको छ । यस्तै संस्थापकहरूको तर्फबाट १० प्रतिशत अर्थात् एक अर्ब रूपैयाँ लगानी गर्ने र त्यसमध्येको एक अर्ब ८० करोडको प्रतिबद्धता जुटिसकेको अध्यक्ष पन्तले बताए । यस अभियानको ८५ प्रतिशत लागनीमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् । नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरका गैरआवासीय नेपालीको प्रतीक्षाको घडी अब समाप्त हुँदै गएको भन्दै उनले दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने जानकारी दिए । उनले ठूला मात्रै नभई साना लगानीकर्ताले पनि आफ्नो सानो पुँजी लगानी गर्न सकने वातावरण बनेको बताए ।
हस्ताक्षर समारोहमा क्षेत्रीय उपसंयोजक मनोजकुमार श्रेष्ठ, एनआरएनए स्र्पोस एकेडेमीका उप संयोजक धर्मराज गिरी, एनआरएनए सांस्कृतिक तथा सम्पदा समितिका संयोजक, गोविन्दप्रसाद गौतम, एनसीसी चीनका अध्यक्ष प्रदिप न्यौपाने तथा महासचिव यमबहादुर क्षेत्री, तान्जानियाका अध्यक्ष पुष्पराज भट्टराई, परामर्शदाता अनल मट्राई, कानुनी परार्मशदाताका प्रतिनिधि र संघका कार्यकारी निर्देशक राजेश राणालगायतको उपस्थिति थियो ।