काठमाडौं ।
हेमबहादुर मल्ल सम्मान–२०७५ डा. गौरीशंकर लाल दासलाई प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार एक विशेष समारोहका बीच दासलाई उक्त सम्मान प्रदान गरेकी हुन् । यो सम्मान दुई लाख रूपैयाँ राशिको रहेको छ । नेपाल जनप्रशासन संघले शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा अतुलनीय योगदान पु-याउने महानुभावलाई सम्मान गर्न ख्यातिप्राप्त प्र्रशासक एवं व्यवस्थापक स्व. हेमबहादुर मल्लको सम्मानमा यो पुरस्कारको स्थापना गरेको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसनको सौजन्यमा यो सम्मान राष्ट्रपति भवनमा प्रदान गरिएको संघले जनाएको छ । सम्मान कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बास्कोटाले हेमबहादुर मल्ल सम्मान पाउने डा. दास १६औं व्यक्ति भएको बताए । यसैगरी सम्मान छनौट समितिका संयोजक माधव पौडेलले यस सम्मानका लागि निष्पक्षरूपमा समितिले चयन गर्दा डा. दास छनौटमा परेको बताए । समारोहमा डा. दासले सम्मानका लागि आभार प्रकट गरे भने साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले धन्यवाद ज्ञापन गरेका थिए ।
राष्ट्रपति भवनको कार्यक्रमपछि याक एन्ड यति होटलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बास्कोटाले डा. दासलाई संघको लोगो प्रदान गर्दै सम्मान गरेका थिए । सो कार्यक्रममा डा. दासले आफूले समाजसेवामा भोगेका अनुभवसहितको विशेष कार्यपत्र प्रस्तुत गरेका थिए । साथै, समारोहमा प्रा. यशोधा काफ्ले, प्रा. चूडाराज उप्रेती र माधव पौडेलले पनि आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
विसं १९८२ साल असोज १० गते सिराहाको इनरुवामा जन्मेका वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरीशंकर लाल दास हाल ९६ वर्षको उमेरमा सामाजिक अभियन्ताको क्षेत्रका एक नक्षत्रको रूपमा चिनिन्छन् । यसपूर्व हेमबहादुर सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुनः, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ र डा. सन्दुक रुइत सम्मानित भइसकेका छन् ।