काठमाडौं ।
अर्थ मन्त्रालयले एक सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख २३ हजार रुपैयाँ सशर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । स्थानीय तहका सबै वडाहरूबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुसार दुई हजार छ सय २६ वटा वडामा स्वास्थ्य संस्थाहरू निर्माणाधीन अवस्थामा छन् । स्वास्थ्य संस्थाहरूको काम सम्पन्नताको आधारमा वित्तीय हस्तान्तरणको रुपमा रकम पठाउने गरिन्छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनहरूको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृति दिएको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि चार अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको र त्यसमध्ये यसअघि दुई अर्ब ६९ करोड रुपैयाँ २८ लाख ५८ हजार रुपैयाँ निकासा भइसकेको जानकारी दिए । अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत ५७ अर्ब ९७ करोड रुपैयाँबराबरको स्रोत सुनिश्चित गरेको थियो । र, सोहीअनुसार गत मंसिर १५ गते तीन सय आठवटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।