इस्लामावाद ।
पाकिस्तानको ऋणको आकार बढेको छ । संघीय सरकारको कुल ऋण पछिल्लो समय बढेर गत जनवरी मसान्तसम्म तीन सय ६५ खर्ब ३७ अर्ब पाकिस्तानी रुपैयाँ पुगेको हो । गत वर्षको सोही अवधिमा तीन सय २९ खर्ब ९७ अर्ब रुपैयाँ थियो । अहिले झण्डै ११ प्रतिशतले बढेको पाकिस्तानी अनलाइन डनले समाचारमा जनाएको छ ।
गत शुक्रबार पाकिस्तानको केन्द्रीय बैंकले यससम्बन्धी तथ्यांक सार्वजनिक गरेको हो । त्यस्तै सरकारको आन्तरिक ऋण पनि बढेर दुई सय ४५ खर्ब रुपैयाँ पुगेको छ । यो सन् २०२०/२०२१ को पहिलो सात महिनाको आँँकडाा हो । अघिल्लो वर्ष सोही अवधिमा यस्तो ऋण दुई सय १७ खर्ब रुपैयाँ थियो । यो भनेको १२.४ प्रतिशतको वृद्धि हो । केन्द्र सरकारको बाह्य ऋण जनवरी अन्तसम्म एक सय २० खर्ब छ ।
अघिल्लो वर्ष यस्तो ऋण एक सय १२ खर्ब रुपैयाँ थियो । यो भनेको ७.४२ प्रतिशतले बढेको हो । ताजा तथ्यांकअनुसार दीर्घकालीन प्रकृतिको आन्तरिक ऋण १५.६३ प्रतिशतले बढेर एक सय ९३ खर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ऋण एक सय ६७ खर्ब रुपैयाँ थियो ।