अमेरिका ।
विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रमअनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ । विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको कार्यक्रमअनुसार यो सहायताको खोप हो । यो कोभ्याक्सको मात्राका खोपहरु विश्व स्वास्थ्य संगठनले अनुदान स्वरुप विश्वका देशहरुलाई उपलब्ध गराउने गरी स्थापना गरेको कार्यक्रम हो ।
यी खोपहरु यसै हप्ताको सुरुवातदेखि खासगरी अफ्रिकाका देशहरुमा पठाइएको हो । यो अनुदानको खोप वितरण गर्ने कार्यक्रम खासमा घानाबाट सुरु भएको थियो । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधनम गेब्रियसले सो कुराको जानकारी दिएका हुन् । उनले आगामी हप्ता पनि यो खोप वितरणको कार्यक्रम रहेको बताए । आगामी हप्ता पनि बढी जसो अफ्रिकी देशलाई नै यो खोप दिइने छ र आगामी हप्ता यो कार्यक्रम अन्तर्गतका करिब १ करोड ४० लाख मात्रा खोपहरु अरु विभिन्न ३१ देशलाई उपलब्ध गराइनेछ ।
खोप वितरण अहिले निकै सानो जनसंख्यामा रहेको तर यसलाई पछि बढाइने पनि उनले बताए । उनले भनेका छन्, ‘अहिलेसम्म त यो खोप विश्वका यो कार्यक्रमअनुसारका खोप वितरण गरिएका देशका २ देखि ३ प्रतिशत मात्र नागरिकलाई यो खोपको मात्रा पुगेको छ ।’ विश्व स्वास्थ्य संगठनले विश्वमा खोप खरिद गर्नसक्ने अवस्था नरहेका अथवा खोपमा पहुँच नपुगेका गरिब देशहरुलाई सुरुमा यो खोप अनुदानमार्फत दिइने गरी वितरणको कार्यक्रम बनाएको बताएको छ ।