काठमाडौँ ।
डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८औँ वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो । १७ वर्षको अवधिमा कम्पनी नेपालको ठूलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ ।
अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोनजस्ता प्रविधिहरू निर्माण गरिसकेको छ । यस्तै एफवान सफ्टले इ–सेवा र फोनपे जस्ता मोबाइलमार्फत हुने भुक्तानीको विकास गरेको छ । तीन जना युवाको परिकल्पनाबाट सुरू भएको एफवान सफ्ट गु्रपमा अहिले हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ ।
१७औँ वार्षिकोत्सवका अवसरमा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुकलाई पुगोस् भन्ने दृष्टिकोण राखेर निर्माण गरिएको बताए । उनले डिजिटल नेपाल बनाएर देशको जीडीपीमा पनि ठूलो योगदान दिन सकौँ भन्ने उद्देश्य राखेको जानकारी दिए ।
एफवान सफ्ट गु्रपअन्तर्गत हाल दर्जन बढी कम्पनी सञ्चालनमा छन् । एफवान सफ्ट गु्रपअन्तर्गत इ–सेवा, फोनपे, इ–सेवा मनि ट्रान्सफर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेकजस्ता लिडिङ कम्पनी सञ्चालित छन् ।