काठमाडौँ ।
पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र वैदेशिक रोजगार विभागबीच बढेको तिक्ततामा कुनै सत्यता नभएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले विभागले मेनपावरमाथि कारबाही अघि बढाउँदा आफूले हस्तक्षेप नगरेको दाबी गरेका हुन् ।
‘मैले युवाहरुलाई विदेश पठाउने भन्दै ठगी गर्ने मेनपावरलाई कारबाही गर्नु भनेर विभागका महानिर्देशकलाई निर्देशन दिएको छु’, उनले भने, ‘सञ्चारमाध्यम, सामाजिक सञ्जालमा भने मैले नबोलेको कुरा बाहिर आएको छ अर्थात् मैले मेनपावरलाई कारबाही नगर्नु भनेर निर्देशन दिएको कुरा आएको छ । यदि त्यसो हो भने प्रमाणसहित पेश गर्न आग्रह गर्छु ।’ हाल विभागका महानिर्देशक कुमार प्रसाद दाहाल रहेका छन् ।
मन्त्री चौधरीले ऐन, नियमअनुसार अघि बढ्दा कुनै पनि मन्त्रालयमातहतका कुनै पनि निकायलाई आफूले नरोक्ने बताए । ‘ऐन, नियमविपरीत मेनपावरले काम गरेको छ भने नियामक निकायले त्यसलाई नियमसंगत कारबाही अघि बढाउन सक्नेछ’, उनले भने, ‘त्यसैले गर्दा मेनपावरले इमानदारपूर्वक काम गर्नु आवश्यक छ ।’
वैदेशिक रोजगार ऐनविपरीत कारबाहीमा परेका एसओएस म्यानपावर प्रालिलाई काम सुचारु गर्न अनुमति दिएसँगै मन्त्री चौधरी विवादमा परेका हुन् । नियमविपरीत एसओएस म्यानपावरले नेपाली युवाहरुलाई कतार प्रहरीमा पठाउने तयारी गरेको भन्दै विभागले उसलाई छ महिनासम्म नियमित काम कारबाही गर्न नपाउने गरी कारबाही गरेकोमा त्यसलाई उनले फुकुवा गरेका थिए । यसरी फुकवा गर्ने क्रममा मन्त्री चौधरीले आर्थिक चलखेल समेत गरेको आरोप लागेको थियो भने सो आरोप गलत भएको अर्थात् सो विषयमा कुनै सत्यता नभएको उनको भनाइ छ ।
यस्तै मन्त्री चौधरीले मेनपावर तथा तिनका अधिकारीहरुलाई मन्त्रालयमा छिर्न नदिएको बताएका छन् । ‘मैले मेनपावरलाई मन्त्रालय छिर्न दिएको छैन तर मेनपावरसँग जोडेर मेरो चरित्रहत्या गर्ने उद्देश्यले विभिन्न झूटा आरोप अर्थात् आर्थिक चलखेल गरे भन्दै बाहिर सूचना प्रवाह भएको छ’, उनले भने ।
यस्तै उनले विदेश जाने नाममा युवाहरु ठगिएको बताए । ‘विदेश पठाउने भन्दै युवाहरुबाट लाखौँ रकम लिएका छन् तर रसिद दश हजार रुपैयाँको रहेको छ’, मन्त्री चौधरीले भने, ‘जसले गर्दा कारबाही अघि बढाउन नियामक निकायलाई समेत अप्ठ्यारो छ । यसलाई रोक्नु आवश्यक छ ।’
उनले वैदेशिक रोजगारीको क्षेत्रमा भएको विकृति हटाउन गन्तव्य मुलुकहरुसँग सरकार–सरकार (जीटुजी)मार्फत युवाहरु विदेश पठाउने विषयमा समेत छलफल अघि बढाइएको बताए । ‘युवाहरुलाई वैदेशिक रोजगार जीटुजी प्रक्रियामार्फत पठाउने विषयमा छलफल भएको छ, अब फेरि मेनपावरको गुनासो आउनसक्छ’, उनले भने, ‘सो प्रक्रिया अपनाए पनि मेनपावरको भूमिकामा यता स्थानमा रहनेछ ।’
मन्त्रालयका सहसचिव सुमन घिमिरेले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउनु आवश्यक रहेको बताए । आन्तरिक रोजगारी नहुँदा बाध्यात्मक रोजगारी बनेको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सर्वप्रथम विदेश जान चाहने युवाहरुलाई गन्तव्य मुलुकको आधारभूत जानकारी दिनु आवश्यक रहेको उनको भनाइ छ ।
‘विदेश गएका युवाहरुले आफूहरुले गरेको कामको विषयमा रिपोर्टिङ नगर्दा समेत समस्या हुने गरेको छ’, सहसचिव घिमिरले भने, ‘आफूले के काम गरेको रिपोर्टिङ नगर्दा के कति काम ग¥यो भन्ने विषयमा रोजगारदाता अन्योलमा हुने तथा आफूले काम गरेको विषयमा स्वयं युवा नै अनभिज्ञ हुने अवस्था रहेको छ ।’यसैबीच वैदेशिक रोजगार व्यवसायी संघले पछिल्लो समय मागपत्र प्रमाणीकरणका लागि सहजीकरण गरिदिन मन्त्रालयसमक्ष आग्रह गरेको छ ।