काठमाडौं ।
सार्क च्याम्बर महिला उद्यमी परिषद् नेपालको आयोजनामा रात्रिबजार मेला सम्पन्न भएको छ । परिषद्ले कोभिड–१९ को अवधिमा सदस्यहरूको आत्मविश्वास र व्यापारलाई बढावा दिनको लागि शनिबार उक्त मेलाको आयोजना गरेको जनाएको छ ।
उक्त मेलामा सामाजिक दूरी कायम राख्नका २२ वटा स्टलहरू मात्रै राखिएको थियो । बजारमा विभिन्न क्षेत्रका महिला उद्यमीहरूद्वारा प्रतिनिधित्व रहेको थियो भने घरको सजावटदेखि सुन्दर सामानसम्म, हस्त शिल्पित गहना, हातले बनाएको कश्मिरी स्कार्फ, स्वेटर, सल, विशेष हस्तशिल्पित रेशम, शिफन साडी र गरगहना, मैनबत्तीहरू तथा अन्य विशेष चिजहरू जस्तै टेबल रनर, म्याटहरू, नेपालको प्रचलित लोकता कागज कपडा साथै अन्य कृषि उत्पादनहरू, परम्परागत खाद्यान्न वस्तुहरू जस्तै मस्यौरा, अचार, ताजा जैविक तरकारीहरू, स्वास्थ्यसँग सम्बन्धित उत्पादनहरू र मसाजको माध्यमबाट हातको उपचार गर्ने जस्ता सम्पूर्ण कुराहरू सबै एउटै छानोमुनि उपलब्ध गरिएको थियो ।
बजारको उद्देश्य नेपालमा बनाइएका उत्पादनहरूको प्रदर्शन गर्ने, आफ्नै देशमा उपलब्ध गुणस्तरीय उत्पादनहरूको भावना प्राप्त गर्ने, स्थानीय उत्पादनहरूलाई प्रोत्साहित र प्रवर्द्धन गर्ने, मानिसहरूको सोच परिवर्तन गर्ने र उद्यमीहरूलाई बीटुबी/बीटुसीको माध्यमबाट जोड्ने थियो । सार्क उद्योग तथा वाणिज्य परिषद्को संरक्षणमा रहेर सार्क च्याम्बर महिला उद्यमी परिषद् नेपालको सन् २००१ मार्च २९ गते गठन भएको थियो । यस संस्थाको स्थापना सम्पूर्ण दक्षिण एसियाली उद्यमी तथा उद्योगप्रति इच्छुक महिलाहरूको विकास गर्ने उद्देश्यले स्थापना भएको हो ।
सार्क च्याम्बर महिला उद्यमी परिषद् नेपालकी उपाध्यक्ष सरोजिनी शेरचनको नेतृत्वमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा धेरै कार्यक्रमहरू सम्पन्न हुँदै आइरहेका छन् । राष्ट्रिय समृद्धिको माध्यमका रूपमा महिलालाई आर्थिक स्वतन्त्रताको महत्व सिकाउन निरन्तर कदम चाल्ने र नवीनता दिने सार्क च्याम्बर महिला उद्यमी परिषद्को अभियानको एक हिस्साको रूपमा रहँदै आएको छ ।