काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग परिसंघलाई अत्यावश्यकबाहेक कुनै पनि वस्तु विदेशबाट खरिद गरी नेपालमा ल्याई बिक्री गरेर नेपालीको बानी नबिगार्न सुझाव दिएका छन् ।नेपालीको आम्दानीको मुख्य स्रोत रेमिट्यान्स अर्थात् विदेशमा गएर कमाएको पैसा हुने र खर्च गर्ने ठाउँ सुपरमार्केट भएको भन्दै त्यस्तो कार्यप्रति असहमति जनाउँदै कच्चा पदार्थ र अत्यावश्यक उपभोग्य वस्तु मात्र ल्याएर बिक्री गर्न प्रधानमन्त्री ओलीले सुझाव दिएका हुन् ।
नेपालका सुपर मार्केटहरुमा बिक्री गरिने अधिकांश सामान विदेशमा उत्पादन भएका वा निर्माण भएका छन् । ती सुपरमार्केटमा अत्यावश्यकभन्दा पनि फजुल खर्च बढाउने सामानहरुको बाहुल्य छ । त्यस्ता सामानले नेपालीको फजुल खर्च गर्ने बानी बसालेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार पनि नेपालीले आम्दानीको ९१ दशमलव एक प्रतिशत उपभोगलगायतका कार्यमा खर्च गर्छन् । आम्दानीको न्यून मात्र बचत गर्ने बानीको कारण नेपालीको आर्थिक अवस्था माथि जानसकेको छैन ।
नेपाल उद्योग परिसंघले सुरु गरेको ‘मेक इन नेपाल स्वदेशी’ अभियानको सोमबार राजधानीमा शुभारम्भ गर्दै व्यापारीहरुको बाहुल्य रहेको उक्त कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘आयातलाई धेरै प्रोत्साहन गर्दैनौँ । आयात गर्नुलाई गाउँघरतिर बेसाहा भनिन्छ । आयात गरेर उपभोग गर्ने भनेको बेसाएको खाने हो, त्यो व्यापार होइन । स्वदेशमा उत्पादन गर्ने, बिक्री गर्ने र उपभोग गर्ने मात्र व्यापार हो ।’
कच्चा पदार्थ खरिद गरेर ल्याएर नेपालमै उत्पादन गर्न सकिने इनर्जी ड्रिंक्सलगायतका वस्तुको आयात गरेर बिक्री गरेकामा प्रधानमन्त्रीले पटक–पटक असहमति जनाउँदै त्यस्ता पेयपदार्थलाई धमिलो पानीको संज्ञा दिँदै त्यस्ता धमिलो पानी नेपालमै उत्पादन गरेर बिक्री गर्न सकिएमा स्वदेशीले नै रोजगारी पाउनेसमेत बताए । नेपालमा वार्षिक करोडौँ रुपैयाँको इनर्जी ड्रिंक्स आयात हुने गरेको छ ।
नेपालका व्यापारघाटा बढ्नुको कारण नै आयात भएको भन्दै उद्योगी र व्यापारीहरुलाई प्रधानमन्त्री ओलीले स्वदेशमै वस्तु उत्पादन गर्न र कच्चा पदार्थ ल्याएर सामान बनाएर बिक्री गर्न पटक–पटक सुझाव दिएका थिए । नेपालमा वस्तु उत्पादन गरेर बिक्री गर्ने बजारको कुनै अभाव नभएको भन्दै उनले दुःखले कमाएका पैसा सही ठाउँमा खर्च गर्ने बानीको विकास गरी परिश्रमको सदुपयोग गर्न सुझाव दिए ।
‘मेक इन नेपाल स्वदेशी’ अभियान सरकारले सुरु गर्नुपर्नेमा परिसंघले नै सुरु गरेको भन्दै प्रधानमन्त्री ओलीले त्यसमा सरकारको पूर्ण साथ र सहयोग रहने बताए । ‘मेक इन नेपाल स्वदेशी’ अभियान नेपाललाई उत्पादक र निर्यातको देश बनाउन सकिने भन्दै यो अभियान सुरु भएपछि नेपाल अब औद्योगीकरणमा जाने भन्दै खुसी व्यक्त गरे । सरकारले सबै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्नलागेको भन्दै त्यसले ‘मेक इन नेपाल स्वदेशी’ अभियान सहयोग गर्ने बताए ।
प्रधानमन्त्री ओलीले आफ्नो गन्तव्य समृद्धि मात्र नभई सुखी नेपाली पनि रहेको स्मरण गराउँदै परिसंघले समृद्ध नेपाल मात्र भनेकामा असहमति जनाए । मानवको परम इच्छा सुख प्राप्ति नै भएको भन्दै समृद्धि र सुखी नेपाली अभियानको रुपम राखेको स्मरण गराए । जनसंख्याको दुई तिहाइ हिस्सा अझै पनि कृषिमै रहेको भन्दै कृषिजन्य पदार्थमा आधारित उद्योग खुल्न नसकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशभर औद्योगिक क्षेत्र निर्माण भएको कारण मेक इन नेपाल अभियानलाई थप सहयोग गरेको बताए । परिसंघका अध्यक्ष सतिश मोरले यो अभियानले सबैलाई स्वदेशी सामान प्रयोगमा प्रेरित गर्ने भन्दै दिगो आर्थिक विकासमा मेक इन नेपालको अभियानको ठूलो सहयोग पु¥याउने दाबी गरे । उक्त कार्यक्रममा अर्थशास्त्री डा. विश्व पौडेलले आर्थिक विकासको लागि गर्नुपर्ने कार्यको बारेमा जानकारी गराएका थिए । विगत दश वर्षमा देशको अर्थतन्त्रमा उतारचढाव आएको भन्दै मेक इन नेपाल अभियानले सन्तुलन राख्न सहयोग पुग्ने दाबी गरे ।