काठमाडौं ।
‘कृषिमा वैदेशिक लगानी खुलाविरुद्ध संघर्ष समिति’ले कृषिमा बाह्य लगानी फिर्ताको माग गरेको छ । कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै समितिले उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवलाई ज्ञापनपत्र पेश समेत गरेको छ ।
नेपाल अण्डा उत्पादक संघ, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय पशुपन्छीपालन सहकारी संघ लिमिटेड, डेरी उद्योग संघ, कृषि बीउ तथा तरकारी समूह नेपाल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मौरीपालक महासंघ, नेपाल कुखुरापालक संघ, चितवन केरा उत्पादक संघ र राष्ट्रिय कृषक समूह महासंघका पदाधिकारी सम्मिलित समितिका प्रतिनिधिले बुधबार समितिका सभापति श्रीवास्तवलाई ज्ञापनपत्र प्रस्तुत गर्दै सरकारी निर्णय फिर्ताका निम्ति प्रयास गरिदिन आग्रह गरेको हो ।
नेपालको कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्दा खाद्य सुरक्षा कमजोर हुने, नेपाली बजारमा विदेशी लगानीकर्ताको एकाधिकार सिर्जना हुने, बजारमा बाह्य नियन्त्रण बढ्नेलगायत गुनासो समितिले गरेको छ । संवेदनशील क्षेत्र कृषिमा विदेशी लगानी ल्याउँदा नेपालको सामाजिक, आर्थिक, राजनीतिक, सुरक्षालगायत अन्य क्षेत्रमा प्रतिकूल असर पर्ने तर्क गर्दै उनीहरूले सार्वभौम संसद्लाई आवश्यक नीति बनाउन र कृषिमा वैदेशिक लगानी हुन नदिने प्रावधानको व्यवस्था गर्न अनुरोध गरेको छ ।