काठमाडौं ।
सानिमा बैंक लिमिटेड र आईएसओएन हेल्थ केयर लिमिटेडबीच स्वास्थ्य उपचार सुविधासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार विश्वभर रहेका पाँच सयभन्दा बढी अस्पतालहरूमा स्वास्थ्य उपचार गराउँदा सानिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले पाँचदेखि सात प्रतिशतसम्म उपचार शुल्कमा छुट प्राप्त गर्न सक्नेछन् ।
आईएसओएन हेल्थकेयरअन्तर्गतका भारतका अपोलो हस्पिटल, मेदान्त हस्पिटल, फोर्टिस हस्पिटल, सिंगापुरस्थित सिंगापुर जेनरल हस्पिटल, थाइल्यान्डस्थित ब्याङकक हस्पिटल, बुमरुनग्राड इन्टरनेसनल हस्पिटल आदिमा सानिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले सो छुट प्राप्त गर्न सक्नेछन् । आईएसओएन हेल्थ केयर लिमिटेडको भारत, थाइल्यान्ड, मलेसिया, इजिप्ट, अमेरिकालगायत देशहरूका प्रतिष्ठित अस्पतालहरूसँग सम्बन्धन रहेको छ ।
सम्झौतामा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र आईएसओएन हेल्थकेयर लिमिटेडका तर्फबाट विजनेश डेभलोपमेन्ट प्रमुख आशिष धवनले बैंकमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुुन् ।
बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टरर ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा नेपालका विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा समेत विशेष छुटको व्यवस्था रहेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब छ करोड २७ लाख ९६ हजार चार सय ४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब १४ करोड ७४ लाख ६५ हजार तीन सय दुई रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब १० अर्ब २४ करोड १४ लाख ३९ हजार एक सय सात रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ६४ करोड १९ लाख ४१ हजार छ सय ६७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ९९ करोड ५० लाख ७६ हजार तीन सय रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५८ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव २१ प्रतिशत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने ८२ करोड ९६ लाख सात हजार नौ सय ९४ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले एक खर्ब सात अर्ब २५ करोड दुई लाख रुपैयाँ निक्षेप संकलन गर ९० अर्ब ८८ करोड तीन लाख ५१ हजार तीन सय ९० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब १६ करोड ७९ लाख ८६ हजार आठ सय २७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४१ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव चार प्रतिशत रहेको थियो ।