काठमाडौं ।
मिथिला लघुुवित्त वित्तीय संस्थाले १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले २०७७ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजी १२ करोड १७ लाख ४० हजार आठ सय ४२ रुपैयाँमध्येबाट १२ प्रतिशत अर्थात् एक करोड ४६ लाख आठ हजार नौ सय एक रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाले कर प्रयोजनको लागि उक्त चुक्ता पुँजीको शून्य दशमलव ४३ प्रतिशत अर्थात् सात लाख ६८ हजार आठ सय ८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही फागुन २३ गते बसेको दुई सय छैटौँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ९६ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ६४ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १३ करोड १७ लाख ४० हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ४० करोड ७९ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४५ करोड ८५ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड १३ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ४१ लाख ८५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ६६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ३१ करोड ७९ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १० करोड ४६ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड आठ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २० लाख २२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ३९ प्रतिशत रहेको थियो ।