काठमाडौं ।
एभरेष्ट बैंकले जानकी मन्दिर, जनकपुरमा क्यूआर कोड सेवा सुरु गरेको छ । बैंकले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउनका लागि जानकी मन्दिर, जनकपुरमा क्यूआर कोडबाट सम्पर्करहित भेटी चढाउने सेवा सुरु गरेको हो ।
बैंकका नायब महाप्रबन्धक डा. सन्धिर कुमार र जानकी मन्दिर, जनकपुरका महन्त रामतपेश्वर दासले संयुक्तरूपमा उक्त नयाँ सेवाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा पुष्पराज उप्रेती, एभरेष्ट बैंकका मार्केटिङ प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारिहरूको पनि उपस्थिति रहेको थियो । उक्त समारोहमा बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमारले आफ्नो मन्तव्यको क्रममा, नयाँ सेवाको प्रयोगले भक्तजनहरूले सजिलै क्यूआर कोड प्रयोग गरी भेटी चडाउन सकिने र सो भेटी वास्तविक समयमा नै जानकी मन्दिरको जनकपुर शाखामा रहेको खातामा जम्मा हुने जानकारी गराए ।
स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय दुई शाखा सञ्जाल, प्रादेशिक कार्यालय, एक सय ३४ एटीएम बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।