काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघमा आबद्ध व्यवसायीहरूलाई आकर्षक कर्जा सुविधा दिनेभएको छ । मेगा बैंक र नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघबीच भएको सम्झौताअनुसार, मेगा बैंकले संघमा आबद्ध सबै व्यवसायीहरूलाई आकर्षक ब्याजदरमा ऋण सुविधा दिने सहमति भएको हो । मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि तथा बैंकको कर्जा नीतिबमोजिम व्यवसाय सञ्चालनका लागि आवश्यक अन्य कर्जा पनि उपलब्ध गराउने भएको छ ।
यो सम्झौतापछि नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघमा आबद्ध व्यवसायीहरूलाई आफ्नो व्यावसाय प्रवर्द्धन गर्न मदत मिल्ने मेगाले विश्वास लिएको छ । मेगा बैंकका दुुई सय चारवटै शाखा कार्यालयमार्फत व्यवसायीहरूले यो कर्जा सुविधा लिन बैंकले जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ३० करोड ४४ लाख ७१ हजार पाँच सय ५९ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ९५ करोड २० लाख ४९ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार नौ सय ५८ रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब २८ अर्ब ६२ करोड ४० लाख ८५ हजार एक सय एक रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २३ अर्ब ३९ करोड ५८ लाख ३३ हजार आठ सय ५९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ६९ करोड ९८ लाख ३१ हजार पाँच सय २५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ६८ करोड १३ लाख २० हजार नौ सय ९३ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब २७ अर्ब ८९ करोड ४६ लाख १४ हजार पाँच सय दुई रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ४९ करोड ३३ लाख ४१ हजार एक सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब १३ करोड २५ लाख ३० हजार तीन सय एक रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ६० प्रतिशत रहेको थियो ।