काठमाडौं ।
बैंक अफ काठमाण्डूले विभिन्न बस सेवाहरूमा क्यूआर कोडको सुविधा विस्तार गरेको छ । बैंकले आफ्नो डिजिटल कारोबार (क्यूआर कोड) विस्तार गर्ने क्रममा पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरूमा भाडा संकलनार्थ क्यूआर कोडको सेवा शुुक्रबारबाट सुरु गरेको हो । उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १ को प्रादेशिक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधिहरूलाई क्यूआर कोड हस्तान्तरण गरेका हुुन् ।
यस सेवाको शुभारम्भसँगै पूर्वी नेपाल यातायातमा काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, विरोटचोकदेखि इटहरी हुँदै विराटनगर र धरानसम्म यात्रा गर्ने सम्पूर्ण यात्रुहरूले बसमा राखिएको बैंक अफ काठमाण्डू लिमिटेडले हस्तान्तरण गरेको क्यूआर कोडलाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन् । साथै, कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरूले काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, विरोटचोकदेखि इटहरी हुँदै विराटनगर र धरानसम्म बस सेवाको सुविधा दिइरहेकोमा अबदेखि यस बससेवा प्रयोग सम्पूर्ण यात्रुहरूले क्यूआर कोडस्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्नेछन् ।
साथै, यस बैंकद्वारा राखिएको क्यूआर कोड छोटो दूरीको यातायात सेवाहरूमा काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, विरोटचोकदेखि इटहरी हुँदै विराटनगर र धरानसम्म सञ्चालित हुने सुपर जनसेवा यातायात समितिका पाँचवटा बसमा क्यूआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिनेछ । सेवाग्राहीहरूले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सिधै बसमा नै भाडा भुक्तानी गर्दा बैंकद्वारा हस्तान्तरण गरिएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
बैंकले हाल ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरहरूबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यससँगै बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना शाखा कार्यालयहरूलाई परिचालन गरी देशका विभिन्न व्यापारिक तथा अन्य स्थानहरूमा क्यूआर कोड राखी डिजिटल कारोबारको लागि ग्राहकहरूलाई उत्प्रेरित गरिरहेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ७० करोड ८५ लाख ११ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ८८ करोड ३८ लाख १६ हजार सात सय २७ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी नौ अर्ब ६५ करोड ८१ लाख ७६ हजार चार सय २९ रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ९३ अर्ब ३५ करोड २८ लाख ८९ हजार सात सय छ रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ३२ करोड २३ लाख ९९ हजार आठ सय ६५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५५ करोड एक लाख ३५ हजार छ सय ४९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । स्प्रेड दर तीन दशमलव ३९ प्रतिशत रहेको बैंकको वितरणयोग्य नाफा भने ३८ करोड ६२ लाख ८१ हजार तीन रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंकले ९२ अर्ब १० करोड ३२ लाख ९९ हजार छ सय ७६ रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८८ करोड १६ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९३ करोड २७ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलवव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव तीन प्रतिशत रहेको थियो ।