काठमाडौं ।
यस साता सेयर बजार परिसूचक २४ सय ५८ दशमलव ४८ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४५ दशमलव २३ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय ११ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ५३ हजार पाँच सय नौ पटकको कारोबारमा तीन करोड २० लाख ७८ हजार एक सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १३ अर्ब ८५ करोड ८५ लाख ८० हजार नौ सय ६४ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा निकै कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय १२ वटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुसार तीन लाख ६० हजार एक सय २५ पटकको कारोबारमा छ करोड ८९ लाख ७७ हजार चार सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ३२ अर्ब ४८ करोड एक लाख ५९ हजार ७३ रुपैयाँ पुुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष तीन कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो र चौथो दिन बजार परिसूचक ओरालो लागेको थियो भने दोस्रो र पाँचौ कार्यदिन सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
जसअनुसार पहिलो दिन बजार परिसूचक २१ दशमलव ५८ अंकले ओरालो लागेर २४ सय ८५ दशमलव नौ बिन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७८ अंकले ओरालो लागेर चार सय ४९ दशमलव ६८ बिन्दुमा झरेको थियो । दोस्रो दिन सार्वजनिक बिदा थियो । तेस्रो दिन भने बजार परिसूचक पुनः २३ दशमलव २२ अंकले ओरालो लागेर दुई हजार चार सय ६१ दशमलव ८८ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४७ अंकले ओरालो लागेर चार सय ४५ दशमलव २१ बिन्दुमा झरेको थियो ।
चौथो दिन पनि बजार परिसूचक तीन दशमलव चार अंकले ओरालो लागेर दुई हजार चार सय ५८ दशमलव ४८ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव शून्य दुई अंकले उकालो लागेर चार सय ४५ दशमलव २३ बिन्दुमा चढेको थियो । पाँचौ दिन भने नेप्से बन्द रहेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक आदि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा पनि यस साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक र नेसनल हाइड्रो पावर कम्पनी अगाडि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरू अगाडि परेका छन् ।
सातामा झण्डै एक दर्जन कम्पनीहरूको बोनस सूचीकृत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यस साता झण्डै एक दर्जन संस्थाहरूको बोनस सेयर सूचीकृत भएका छन् । जसअनुसार छिमेक लघुवित्त वित्तीय संस्थाको २२ प्रतिशतको अनुपातमा ३३ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ भने माछापुच्छ्रे बैकको पनि सात दशमलव तीन प्रतिशतको अनुपातमा ५९ लाख ४६ हजार एक सय ६९ दशमलव ३१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यसैगरी लक्ष्मी बैंकको पनि नौ प्रतिशतको अनुपातमा ८८ लाख ३१ हजार तीन सय तीन दशमलव ५६ कित्ता बोनस सेयर नियमित कारोबारको लागि सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ । यस साता ज्योति विकास बैंकको १० प्रतिशतको अनुपातमा ३४ लाख ९५ हजार दुई सय ९३ दशमलव ४४ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने एनएमबी बैंकको पनि १३ प्रतिशतको अनुपातमा एक करोड ८७ लाख ८२ हजार ७८ दशमलव ८६ कित्ता बोनस सेयर नियमित कारोबारको लागि सूचीकृत भएको छ ।
नेप्सेका अनुसार यस साता नबिल बैंकको ३३ दशमलव ५० प्रतिशतको अनुपातमा तीन करोड ३८ लाख २६ हजार छ सय १६ दशमलव २९ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने अरुण कावेली पावर लिमिटेडको पनि पाँच दशमलव ७१ प्रतिशतको अनुपातमा आठ लाख ५६ हजार पाँच सय कित्ता बोनस सेयर नियमित कारोबारको लागि सूचीकृत भएको छ । यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको पनि सिटी एक्सप्रेद फाइनान्सलाई प्राप्ति गरेपश्चात् कायम भएको सेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।