काठमाडौं ।
सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको छ । हालै गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी शिवम्लाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो । योसँगै शिवम् सिमेन्ट ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल भएको छ ।
साथै कम्पनी सिमेन्टजगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत समेत भएको थियो । हालसम्म उत्पादित सिमेन्टमध्ये शिवम् मात्रै एनएस–५७२ प्रमाणीकरण भई ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्नयोग्य कम्पनी हो । योभन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–२९ प्रमाणीकरण गर्दै आइरहेको थियो जसअन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलव्ध थिए ।
नेपालमा एनएस ४९ को मापदण्डअनुरुप उत्पादन तथा बिक्रीवितरणको मान्यता दिँदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७२ को अवधारणासहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो । अब कुनै पनि सिमेन्ट कम्पनीले ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्न एनएस–५७२ प्रमाणीकरण गर्नु अनिवार्य छ । जसका लागि नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तह–तहमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित क्लिङ्कर र सिमेन्टको लामो समयसम्म परीक्षण गरी एनएस–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याब परीक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणीकरण गर्ने प्रक्रिया रहेको छ ।
सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।