काठमाडौँ, पुस २५
काठमाडौँको जोरपाटीमा केन्द्रीय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले क्यूआर कोड पेमेन्ट सिस्टम सुरु गरेको छ । सदस्यलाई छिटो, सरल, विश्वसनीय, उच्चस्तरीय सेवा दिने प्रतिबद्धताअनुसार क्यूआर कोड बैकिङ सुरुवात गरेको हो । संस्थाले यसअघि मोबाइल बैकिङ, एसएमएस सेवा, एटीएम सेवा, मिस्डकल बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
सहकारी संस्थालाई प्रविधिमैत्री बनाउने र सदस्यलाई सरल, सहजरूपमा सहकारीको सेवा दिने उद्देश्यले नयाँ सेवा सुभारम्भ गरेको संस्थाका प्रमुख कार्यकारी निर्देशक विकल्प पाठकले जानकारी दिए । संस्थाले बुधबारबाट पिपुल्स लाइफ केयर अस्पतालबाट क्यूआर कोड पेमेन्ट सिस्टमको सेवा सुभारम्भ गरेको हो । अब नेचुरल सहकारीका सदस्यले ‘नेचुरल स्मार्ट एप’ प्रयोग गरी ५ रूपैयाँदेखि ५० हजार रूपैयाँसम्म भुक्तानी गर्न सक्ने प्रमुख पाठकले जानकारी दिए ।
नेचुरल सहकारीको क्यूआर कोड पेमेन्ट रहेको अस्पताल, स्कुल, होटल, रिसोर्ट, किराना पसलहरूमा रकम भुक्तानी गर्न सकिने पाठकले बताए । नेचुरलले केन्द्रीय कार्यालय जोरपाटी, सदस्य सेवा केन्द्र साखु, सदस्य सेवा केन्द्र नयाँ बजार र सदस्य कार्यालय काडाँघारीबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।