दोलखा ।
दोलखाको उत्तरी क्षेत्रको प्रमुख व्यापारी केन्द्र मानिने गुमुखोला बजार भूकम्पपछि सुनसान र खण्ड–खण्ड बन्न थालेको छ । जिल्लाको कालिञ्चोक गाउँपालिकामा पर्ने गुमुखोला बजार १७ वर्षअघिसम्म जिल्लाकै प्रमुख व्यापारिक केन्द्र रहेको थियो । त्यसपछि बनेका महत्वपूर्ण विकास संरचनाले छुट्याएको सहरलाई २०७२ वैशाखको भूकम्पले ध्वस्त बनाएको छ ।
गुमुखोला बजार अहिले झण्डै खण्डहर बनेको छ । बजारको रौनकबाट झण्डै खण्डहर बनेको गुमुखोलामा एउटा दोकान भने अहिले पनि सञ्चालनमा छ । उमेरले ७० नाघेकी रामकुमारी श्रेष्ठ विगत ४० वर्ष अघिदेखि त्यही पसल सञ्चालन गरिरहेकी छिन् । ४० वर्षअघि पसल सुरु गर्दाताकाको सम्झनाले रोमाञ्चित हुन्छिन्, रामकुमारी ।
‘त्यतिबेलाको के कुरा गर्नु मानिसको भिडले सडक वारपार गर्न समेत मुस्किल हुन्थ्यो, व्यापारको त कुरै छाडौँ’ रामकुमारीले भनिन्, ‘अहिले त तपाईँहरूजस्तो पाहुना र फाट्टफुट्ट बटुवा आउँदा अलिअलि व्यापार हुने हो ।’ विगत ३० वर्षदेखि नियमित रामकुमारीको दोकानमा चियाको चुस्की लगाउन आउने छिमेकी मकरबहादुर राउत आफूले कल्पनै गर्न नसक्ने गरी गुमुखोला बजार खण्डहर बनेको गुनासो गर्छन् ।
‘१७/१८ वर्षअघिसम्म गुमुखोलामा डेढ सयभन्दा बढी पसल र घरहरू थिए, कृषि विकास बैंक, नेपाल बैंक, महिला विकास, पशु सेवा कार्यालय आदिका शाखाहरू थिए तर अहिले एक/दुई जना मानिस हिँड्दा पनि चिज हुने भएको छ’, मकरबहादुरले भने । हरेक महिनाको १० र २५ गते हाट लाग्दा जिल्लाभरिकै मान्छे आएझैँ भिड लाग्ने गरेको उनेको स्मरणमा छ । एउटा दोकान र दुई/तीन वटा घर भएको खण्डहर गुमुखोला देखेर आतेस लाग्ने गरेको स्थानीय रामकाजी श्रेष्ठ बताउँछन् ।
‘विगतमा यही बजार हो, मानिसलाई छिचोलेर अघि बढ्नै कठिन हुन्थ्यो भिडले गर्दा, अहिले उराठलाग्दो खण्डहर बनेको छ’ रामकाजीले भने । २०६० साल अघिसम्म गुमुखोला उत्तरी भेगको लप्ची, लामाबगर, गौरीशंकर, सिंगटीलगायत तत्कालीन २२ गाविसको पैदल मार्ग र प्रमुख व्यापारिक केन्द्र थियो । २०६० सालमा माथिल्लो भेगबाट सडक बनेपछि गुमुखोला बजार क्रमशः घट्दै गएको र भूकम्पपछि झण्डै–झण्डै खण्डहर नै बनेको रामकाजी श्रेष्ठ बताउँछन् ।