काठमाडौं ।
एनसीसी बैंकबाट पाँच करोड रुपैयाँसम्म चितवनका किसानहरूले सहुलियत कर्जा पाउने भएका छन् । सम्झौताअनुसार बैंकबाट चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका हुन् । यसको लागि बैंकले चितवन जिल्ला दुग्ध सहकारी संस्थासँग सम्झौता गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि २०७५ (तेस्रो संसोधन सहित) अन्तर्गत व्यावसायिक कर्जा प्रवाहको लागि बैंकले उक्त संस्थासँग सम्झौता गरेको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र संस्थाका तर्फबाट अध्यक्ष रत्नमणी न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार पशुपालक व्यक्ति वा किसानले प्रतिव्यक्ति अधिकतम १० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । कृषि तथा पशुपालन गर्ने कम्पनीहरूको हकमा भने प्रतिकम्पनी अधिकतम पाँच करोड रुपैयाँसम्म कर्जा प्रवाह गरिने बैंकले जानकारी दिएको छ । यसबाट संघका विभिन्न सहकारी संस्थाहरूसँग प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आबद्ध४० हजारभन्दा बढी किसानहरू लाभान्वित हुनसक्ने अपेक्षा राखिएको छ । यो कर्जा योजनामा सहभागी हुने सेवाग्राहीलाई कुनै पनि सेवाशुल्क नलाग्ने बैंकले जनाएको छ ।