काठमाडौं ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)का अध्यक्ष पवनकुमार गोल्यानले साना तथा मझौला उद्योगहरुको प्रवर्द्धनमा जोड दिएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको सिविफिनका पदाधिकारीहरुलाई बधाई ज्ञापन कार्यक्रममा उनले दुवै संस्थाले संस्थागत सहयोग र सहकार्यको कार्यलाई तदारुकताका साथ अगाडि बढाउनुपर्ने बताए । कतिपय अवस्थामा उद्योगमैत्री ऋण प्रवाहको व्यवस्था नभएको र उद्योग सञ्चालनभन्दा व्यापारमा ऋण प्रवाह सहजीकरण भइरहेको प्रसंग उल्लेख गर्दै उनले दुवै संस्था मिलेर साना तथा मझौला उद्योगहरुको प्रवर्द्धनमा योगदान पु-याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले परिसंघले ‘मेक इन नेपाल : स्वदेशी’ अभियानलाई अगाडि बढाइरहेको जानकारी गराउँदै यस अभियानमा परिसंघले नेपालका निजी क्षेत्रका अन्य संघ/संस्थाहरुसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने बताए । नेपालमा स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित परिसंघले अभियान सुरु गरेको उनको भनाइ थियो । अध्यक्ष मोरले बैंक तथा वित्तीय क्षेत्रका धेरै विषयहरु परिसंघले उठाउँदै आएको र परिसंघका सुझावहरुलाई नेपाल राष्ट्र बैंकले सकारात्मकरुपमा लिई धेरै सुझावहरुलाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको बताए ।
उद्योग र बैंक तथा वित्तीय संस्था एक अर्काको पर्याय भएकोले आगामी दिनमा पनि बैंक तथा वित्तीय संस्था परिसंघ नेपालसँग उद्योग परिसंघले बैंक तथा वित्तीय क्षेत्रका विषयमा सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाइ थियो । दुवै संस्थाबीच हुने ठोस सहकार्यले मात्र उद्योग र बैंकिङ क्षेत्रको दिगो विकास तथा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह हुने, देशमा औद्योगीकरण तथा आर्थिक विकासमा योगदान पुग्ने र राष्ट्रको अर्थतन्त्र सबल एवं सक्षम हुने मोरले बताए ।
कार्यक्रममा उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो भने सिविफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, महासचिव केशव बहादुर रायमाझी र सचिव कुश प्रसाद मल्लीको उपस्थिति थियो ।