ब्रसेल्स ।
युरोपेली नागरिकहरुलाई विना भेदभाव डिजिटल यात्रा प्रमाणपत्र वितरण गर्ने तयारी भएको छ । विदेश यात्राका लागि युरोपभर यस्तो व्यवस्था गरिनलागेको अधिकारीहरुले जनाएका छन् । कोरोनाविरुद्ध खोप लगाएका जो कोही वा जाँचपछि नेगेटिभ रिपोर्ट आएका वा कोरोना संक्रमणपछि भर्खरै निको भएकाहरुलाई युरोपभित्र यात्रा गर्न छुट दिने लक्ष्य राखेर यसो गरिनलागेको बीबीसीले जनाएको छ । तर नयाँ डिजिटल प्रमाणपत्र कसरी प्रयोग गर्ने भन्नेचाहिँ २७ सदस्यराष्ट्रले निक्र्योल गर्नेछन् ।
यसअघि खोप राहदानीबारे युरोपकै केही सदस्य राष्ट्रले भेदभावपूर्ण भन्दै विरोध गरेका थिए । केहीले भने यसले अल्पसंख्यकलाई निर्धक्क विदेश यात्रामा सघाउ पु-याउने पनि बताउँदै आएका छन् । युरोपियन जस्टिस कमिसनर डिडियर रियन्डर्सले बुधबार ब्रसेल्समा बोल्दै प्रस्तावित डिजिटल प्रमाणपत्र युरोपका सबै नागरिक, उनीहरुको परिवारलाई उनीहरु युरोप छोड्दा, बाहिर बस्दा चाहिने गरी ल्याउन खोजिएको बताए ।
त्यस्तै युरोपियन इकोनोमिक एरिया (ईईए)का लागि पनि उपलब्ध हुने बताउँदै उनले आफूहरुले नर्वे र आइसल्यान्डसँग पनि सँगै काम गर्न चाहेको उनको भनाइ छ । यसमा स्विट्जरल्यान्डलाई पनि समावेश गरिनसक्ने उनले बताए ।