काठमाडौं ।
ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दुई अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । टीआईले स्वास्थ्य सेवाहरूको गुणस्तर, औषधि र कीटहरूको मूल्यको बजार मूल्यांकन र स्वास्थ्य सेवाको पहुँच र वितरणसम्बन्धी प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव दामोदर रेग्मी, सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक सुवासचन्द्र शिवाकोटी, स्वास्थ्य व्यवस्थापन शाखाका निर्देशक डा. भीमसिंह तिन्करी, प्रमुख अनुसन्धानकर्ता तथा टीआई नेपालका पदाधिकारीबाट संयुक्तरूपमा उक्त प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
टीआईले स्वास्थ्य क्षेत्रको सार्वजनिक खरिद प्रक्रियामा खुला करारलाई प्रश्रय दिन, सार्वजनिक खर्चमा जिम्मेवारीपन र पारदर्शिता प्रवद्र्धन गर्न स्वास्थ्य क्षेत्रमा खुला करार परियोजना सञ्चालन गरिरहेको छ । मूलतः संघीय व्यवस्थाका साथै वाग्मती र प्रदेश २ केन्द्रित यी अध्ययनले खुला करारको अभ्यासमार्फत नेपालको स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि स्वास्थ्य सेवा प्रदायक व्यवसायी, सरकारी निकाय र नागरिक समाजले आफ्नो भूमिका बढाउनु पर्ने कुरा इङ्गित गरेको छ ।
त्यसैगरी सार्वजनिक सेवाको गुणस्तरमा वृद्धि हुनुपर्ने, मूल्य र गुण्स्तरको अनुगमन नियमित हुनुपर्ने, खरिद प्रक्रियाका तथ्यांकको पारदर्शितामा देखिएको कमीलाई सुधार्नुपर्नेजस्ता विषय प्रतिवेदनमा उठान गरिएका छन् । प्रस्तुत विषयमा अनुसन्धानकर्ताबाट संक्षिप्त प्रस्तुति र कार्यक्रमका वक्ताहरूबाट उक्त विषयमा आफ्ना धारणा व्यक्त भएको थियो । स्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सार्वजनिक खरिदमा पारदर्शिताका साथै नियमन निकाय र नागरिकस्तरबाट समेत नियमित रूपमा खबरदारीको आवश्यकताबारे कार्यक्रममा चर्चा भएको थियो । कार्यक्रमको अध्यक्षता ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालका अध्यक्ष पद्मिनी प्रधानांगले गरेकी थिइन् ।