काठमाडौं ।
शाओमीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत डीएसए (डिसेबल स्टुडेन्ट एसोसिएसन) का ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले डीएसए स्कूलका प्रधानाध्यापक दयाराम महर्जनलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
शाओमीले आफू सञ्चालनमा रहेको समुदायको सेवाका लागि विभिन्न कल्याणकारी गतिविधिहरु आयोजना गरिरहेको जनाएको छ । शाओमी नेपाल टिमले डीएसएका विद्यार्थीहरुलाई ल्यापटप, किट, झोला, जुत्ता, किताबहरु वितरण गरेपश्चात् डीएसएका विद्यार्थीहरुका मिठामिठा गीत//संगीतहरु सुनेर, उनीहरुले नै बनाएका सुन्दर चित्रहरु हेर्दै र उनीहरुकै रमाइला कथाहरु सुनेर समय बिताएका थिए ।
शैक्षिक सामग्री वितरणबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले आफूहरु व्यवसाय गर्नुका साथै समुदायप्रतिको जिम्मेवारीबारे पनि सचेत रहेको बताए । आगामी दिनहरुमा पनि समुदायलाई विभिन्न माध्यमबाट सहयोग गर्ने उनको भनाइ थियो ।