ललितपुर ।
ललितपुर महानगरपालिका–१४ खुमलटार र विशालचोकस्थित दुईवटा बैंकको एटीएम फुटाई नगद चोरी गर्न खोजेको अभियोगमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका–५ घर भएका ३० वर्षीय भेष बहादुर थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–१४ खुमलटारस्थित ग्लोबल आईएमई बैंकको एटीएम गत फागुन २८ गते राति र सोही ठाउँ विशालचोकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम चैत ९ गते फुटाई नगद चोरी गर्न खोज्ने कार्यमा संलग्न उनलाई ललितपुर महानगरपालिका–१४ ताल्छीखेलस्थित वर्कशपबाट घटनामा प्रयोग भएको बा.३५प ६१५७ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो । उनीउपर चोरी उद्योगसम्बन्धी कसुरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।