वासिङटन ।
अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले पाकिस्तानलाई ५० करोड डलर दिन मञ्जुरी दिएको छ । पाकिस्तानको आर्थिक उन्नतिबारे चारवटा समीक्षापछि बोर्डले कोषले दिने आर्थिक सहयोगको एक हिस्साअन्तर्गत उक्त रकम दिने मञ्जुरी गरेको हो ।
यो कोषले गर्ने छ अर्ब डलरको कार्यक्रमकै एक हिस्सा हो । पाकिस्तानले अर्थतन्त्रको स्थिरताबारे केही गम्भीर निर्णय गरेपछि मात्रै उक्त स्वीकृति मिलेको बताइएको छ । गत महिना कोष र पाकिस्तान सरकारबीचको सहमतिपछि यस्तो निर्णय भएको हो । यो तेस्रो किस्ता हो । छ अर्बमध्ये कोषले यसअघि नै एक अर्ब ४५ करोड डलरको दुई किस्तासहित दुई अर्ब डलर ऋण सहयोग वितरण गरिसकेको छ । गत अप्रिलमा कोषले यसका लागि बोलाइएको बोर्ड बैठक सारेको थियो ।
पाकिस्तानले अर्थतन्त्रको पुनर्संरचनाका लागि पूरक बजेट ल्याउन नसकेपछि कोषले यसो गरेको थियो । फेब्रुअरीमा दुवै पक्षले दोस्रो, तेस्रो, चौथो र पाँचौँ कार्यक्रमको समीक्षा क्रमशः गर्ने सहमति गरेका थिए । यी समीक्षा छुट्टाछुट्टै रुपमा पूरा भएको भए दुई अर्ब २० करोड डलरको सहयोग पाकिस्तानले पाउँथ्यो तर अहिले कोषले त्यसलाई ५० करोड डलरमा झारेको छ ।