काठमाडौं ।
आइतबारदेखि मेलम्चीको खानेपानी काठमाडौं उपत्यकाका केही निश्चित स्थानीयका घरघरका धाराबाट निःशुल्क वितरण थालिएको छ । परीक्षणका रुपमा काठमाडौंका विभिन्न क्षेत्रमा रुटिन बनाएर पानी वितरण गरिएको छ भने अनामनगर क्षेत्रमा भने चौबीसै घण्टा पानी वितरण सुरु गरिएको छ ।
उक्त क्षेत्रमा करिब एक हजार छ सय निजी धारामा पानी वितरण सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । सो क्षेत्रमा केही एक हजारभन्दा बढी पुराना धारा छन् भने पाँच सय १० धारा मात्र नयाँ छ । पानीको उपभोग दर कस्तो छ र पानी चुहावटको रुपम कस्तो हुन्छ भनेर चौबीसै घण्टा पानी वितरण गरिएको केयूकेएलले जनाएको छ ।
लामो समयदेखि स्थानीयले धाराको पानी उपभोग गर्न पाएका छैनन् भने धाराको पानी आए पनि एक हप्ता वा दश दिनमा एक पटक करिब दुई घण्टा मात्र आउने गरेको छ । त्यही भएर उभोक्तामा धाराको पानी उपभोग गर्ने बानीमा परिवर्तन आएको छ । अब फेरि चौबीसै घण्टा धारामा पानी आउँदा उपभोक्ताको बानी कस्तो हुन्छ र कति उपभोग गर्छन् भन्ने अध्ययनका लागि पनि चौबीसै घण्टा पानी दिएर अध्ययन गर्न लागिएको हो ।
आइतबार महांकालचौरबाट पानी वितरण सुरु गरिएको हो । आइतबार महांकालचौर, चाबहिल, कुटुबहाल, बत्तीसपुतली, जयवागेश्वरी सिफल, कालोपुल, एयरपोर्टहाइट, देवकोटा सडक, अनामनगर, मीनभवन, खुमलटारलगायतका ठाउँमा पानी वितरण गरिएको छ । तीमध्ये अनामनगरमा मात्र चौबीसै घण्टा पानी वितरण सुरु गरिएको हो । सोमबार बालाजुबाट पनि मेलम्चीको पानी वितरण हुनेछ । त्यसपछि महाराजगञ्ज र बाँसबारीको पानी पोखरीबाट पनि थप स्थानमा पानी वितरण गरिने केयूकेएलले जनाएको छ ।
आइतबारदेखि वितरण थालिएको पानी धारा खोलेर सिधै पिउन सकिने केयुकेएलले जनाएको छ । सुन्दरीजलमा रहेको ट्रिटमेन्ट प्लान्टबाट पानी प्रशोधन गरी परीक्षण गरेर मात्र वितरण गरिएको कारण पानी पिउनयोग्य छ । पानी वितरण गर्दा बिहान, दिउँसो र बेलुकीको तालिका बनाइएको छ । यसरी वितरित पानीको तत्काल मूल्य भने निर्धारण गरिएको छ । आइतबारदेखि केही दिनसम्म पानी निःशुल्क वितरण सुरु गरिएको केयूकेएलले जनाएको छ ।
पानी वितरणको परीक्षण सफल भएपछि मात्र मूल्य निर्धारण गरिने केयूकेएलले जनाएको छ । पानी वितरणमा समस्या आएमा तत्काल समाधान गर्ने गरी टोली गठन गरिएको छ । पानी नआएमा वा चुहावट भएमा तत्काल खबर गर्न सामाजिक सञ्जाल र फोन नम्बर समेत उपभोक्ताहरुलाई उपलब्ध गराइएको केयूकेएलले जनाएको छ । एउटा धारामा एक हजार लिटरको दरले पानी वितरण सुरु गरिएको जनाइएको छ ।