काठमाडौं ।
बैंकिङ क्षेत्रको निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप नौ दशमलव आठ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप छ दशमलव चार प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२ दशमलव चार प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको चैतको पहिलो सातासम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरको समेत गरी १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनीहरुको कुल निक्षेप भने ४३ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुको मात्र कुल निक्षेप ३८ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल निक्षेप पाँच खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम भने ३८ खर्ब ९९ अर्ब रुपैयाँ रहेको छ । सोमध्ये वाणिज्य बैंकहरुको मात्र कुुल कर्जा ३४ खर्र्ब ५३ अर्ब रुपैयाँ पुगेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम चार खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ ।
चालू आवको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः आठ दशमलव दुई प्रतिशत, ३३ दशमलव नौ प्रतिशत र ४८ दशमलव नौ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः आठ दशमलव दुई प्रतिशत, ३१ दशमलव छ प्रतिशत र ४९ दशमलव नौ प्रतिशत रहेको थियो । २०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२ प्रतिशत रहेको छ । २०७६ माघ मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव नौ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रकम भने चालू आवको सात महिनामा १४ दशमलव एक प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा आठ दशमलव नौ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १७ दशमलव तीन प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १४ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १७ दशमलव सात प्रतिशतले र फाइनान्स कम्पनीहरुको कर्जा प्रवाह चार दशमलव चार प्रतिशतले बढेको छ ।
चालू आवको सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव चार प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२ दशमलव तीन प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७६ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५ दशमलव एक प्रतिशत र १३ दशमलव चार प्रतिशत रहेको थियो ।
चालू आवको सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २५ दशमलव पाँच प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १० दशमलव एक प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा सात दशमलव छ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा सात दशमलव नौ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ११ दशमलव दुई प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १३ दशमलव एक प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३ दशमलव दुई प्रतिशतले, ओभरड्राफ्ट कर्जा १४ दशमलव आठ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा १६ दशमलव आठ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) पाँच दशमलव तीन प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५३ दशमलव पाँच प्रतिशतले र ट्रष्ट रिसिट अर्थात् आयात कर्जा १८ दशमलव दुई प्रतिशतले बढेको छ । यस अवधिमा हायर पर्चेज कर्जा भने पाँच दशमलव नौ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।