काठमाडौं ।
लक्ष्मी बैैंकले विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक) २०२१ को उपलक्ष्यमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकको वित्तीय साक्षरता आभियानअन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरूका करिब एक हजारभन्दा बढी विद्यार्थीहरूलाई सामान्य वित्तीय साक्षरतासम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउँदै खुत्रुके वितरण गरिएको थियो । यसका साथै युवाहरूमा प्रविधिको प्रयोग गरी बैकिङ गर्ने बानीको विकास गर्नेे उद्देश्यले विभिन्न व्यवसायमा आबद्ध साना व्यवसायीहरूलाई डिजिटल बैंकिङको प्रयोगसम्बन्धी तीनवटा तालिम सत्र सञ्चालन गरिएको थियो ।
यसैगरी लक्ष्मी बैंकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिवृद्धिसम्बन्धी वृत्तचित्र ‘समृद्धिको अभियान, लक्ष्य वित्तीय ज्ञान’ नेपाल टेलिभिजनबाट २०७७ चैत्र १० गते तथा चैत्र १५ गते प्रसारण गरिएको थियो । विश्व वित्तीय सप्ताहकै उपलक्ष्यमा वित्तीय जानकारीसहितको नव वर्ष २०७८ सालको वार्षिक भित्तेपात्रो (क्यालेन्डर) को पाँचौँ संस्करणको विमोचन गरिएको थियो । २० हजार प्रति क्यालेन्डर छापी सातवटै प्रदेशका दुर्गम क्षेत्रमा यस्तो क्यालेन्डर वितरण गर्ने तयारी गरिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता अभियानलाई प्रमुख प्राथमिकतामा राख्दै बैंकले यसअघि पनि विभिन्न सहभागितामूलक तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । भविष्यमा पनि यसलाई निरन्तरता दिँदै अधिकतम जनसमुदायमाझ वित्तीय सचेतना फैलाई वित्तीय पहुँच विस्तार गर्ने बैंकको योजना रहेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ८० करोड ७१ लाख १५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ९० करोड ३० लाख २९ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी १० अर्ब ६९ करोड ५६ लाख ९० हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब चार अर्ब ३५ करोड ७५ लाख ३४ हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ३८ करोड ७२ लाख ५८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५१ करोड ५२ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव नौ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ५० करोड ४८ लाख २८ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ९८ अर्ब ३७ करोड सात लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४५ करोड २५ लाख ५० हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ७४ करोड ४४ लाख चार हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव २३ प्रतिशत रहेको थियो ।