काठमाडौं ।
गर्मी बढ्न थालेसँगै पछिल्लो समयमा नेपालमा पनि कोरोना संक्रमण बढ्नथालेको छ । मंगलबार थप एक सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ७७ हजार एक सय ४७ पुगेको छ ।
थप तीन हजार एक सय ४० जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ६७ हजार चार सय आठ पुगेको छ । हाल ५३ सङ्क्रमित क्वारेन्टाइनमा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७२ हजार सात सय २७ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।
मंगलबार देशभरबाट एक सय १५ जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार तीन सय ९० सक्रिय सङ्क्रमित छन् । पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।