काठमाडौं ।
सरकारले उद्योग, प्रयोगशाला, शैक्षिक संस्थालगायत केही निश्चित निकायलाई तोकिएको परिमाणमा मात्र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ खरिद गर्न पाउने कानुन प्रबन्ध गरेको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी उद्योग, प्रयोगशाला, अनुसन्धानशाला, शैक्षिक संस्था, कार्यशाला, वर्कशप, धातुका गहना बनाउने कम्पनी वा व्यक्तिले मात्र तेजाबलगायतका घातक रासायनिक पदार्थ खरिद गर्न पाउनेछ भने बिक्री गर्ने निकायले पनि ती निकायलाई मात्र बिक्री गर्नुपर्ने व्यवस्था गरेको हो ।
ती निकायले मासिक एक लिटर वा एक किलो मात्र तेजाब वा अन्य घातक रासायनिक पदार्थ खरिद गर्न पाउनेछन् । खरिद गर्दा खरिद गर्ने संस्था वा व्यक्तिले आफ्नो नाम र कुन प्रयोजनका लागि खरिद गर्न लागेको हो त्यसको पूर्ण विवरण लेखाउनुपर्नेछ । बिक्री गर्नेले पनि विवरण राखेर मत्र बिक्री गर्न पाउनेछ । तेजाब खरिद गरी व्यक्तिका अनुहारमा हाल्ने प्रवृत्ति बढेपछि सरकारले त्यसलाई कडाइ गर्न ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ ल्याएको थियो । उक्त अध्यादेश संघीय संसद्मा पेश हुन नसकेपछि त्यही अध्यादेशको दफा ३४ लाई आधार मानेर सरकारले नियमावली बनाएर तेजाबको खरिद र बिक्रीमा कडाइ गरेको हो ।
उक्त नियमावलीअनुसार तेजाब तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी वा पैठारीको लागि अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । त्यसरी अनुमतिपत्र लिँदा २५ हजार रुपैयाँ दस्तुर तिरेर प्रमुख जिल्ला अधिकारीकहाँ निवेदन दिनुपर्नेछ ।
निवेदन दिएपछि छानबिन गरेर आवश्यकताको आधारमा प्रजिअले अनुमति दिनेछ । त्यसरी लिएको अनुमति दश हजार रुपैयाँ तिरेर मात्र नवीकरण गर्न पाइनेछ । नियमावलीअनुसार तेजाबलगायतका रासायनिक पदार्थ ढुवानी गर्ने गाडीमा पनि संकेत राख्नुपर्नेछ । जुन गाडीले ढुवानी गरेको हो त्यसलाई आमसर्वसाधारणले सजिलै चिन्न पाउनेछन् ।