काठमाडौं ।
ह्याकिङमा विदेशी नागरिक पुुनः सक्रिय भएको देखिएको छ । अनधिकृतरुपमा एटीएम ह्याक गरी रकम निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेपछि विदेशी नागरिकको सक्रियता देखिएको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा मंगलबार साँझ १७ः३७ बजे रकम निकाल्न खोज्ने चिनियाँ नागरिक वाङ जियालोङलाई पक्राउ गरेको हो ।
काठमाडौ महानगरपालिका–२७ ज्याठामा रहेको मेगा बैंकको एटीएममा जियालोङले अनधिकृत रुपमा कि–बोर्ड पिन नम्बर ह्याक गरी नगद रुपैयाँ निकाल्न खोजेको अवस्थामा फेला पारी तत्काल उनलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणपछि उनी बस्ने गरेको ज्याठास्थित होटल मन्टेस को चौथो तलाको रुम नं. ४०५ मा खानतलासी गरिँदा ह्याकिङको लागि प्रयोग हुने सामानहरु समेत बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद सामानमा विभिन्न किसिमको १० वटा चाबीसहितको झुप्पा, चाइनिज भाषामा लेखिएको फोटोसहितका दुईवटाा कार्ड, ५१ थान ड्रिल मेसिनको काटी, सात थान सुन्तला रंगको बट्टा र पहेलो रंगको बट्टा, एउटा चार्जर, तीनवटा रंगको चार्जर पोर्ट, दुई थान सेतो र रातो रंगको टेप, दुईवटा सेतो रंगको पावर बैंकका साथै नेपाली, अमेरिकी तथा चिनियाँँ मुद्रालगायतका सामानहरु बरामद भएको प्रहरीले जनाएको छ । यसबारे अनुसन्धान अघि बढेको प्रहरीको भनाइ छ ।