काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको करिडोर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाएको छ । महाशाखाले बुधबार एक कार्यक्रमकाबीच करिडोर सडक व्यवस्थापन टोली (सीएमटी) परिचालन गरेको हो ।
महाशाखाको निरन्तर समन्वय एवं पहलमा निर्माण भई सञ्चालनमा रहेका उपत्यकाको मुख्य कोरीडोरहरू विष्णुमति, वाग्मती, धोविखोला र मनोहरा करिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन योजना लागू गरेको हो । करिडोरलाई चौबीस खण्डमा विभाजित गरी करिडोर क्लियरेन्सको लागि १७ टोली गठन गरी परिचालन गरेको महाशाखाले जनाएको छ । टोलीको पहिचानको लागि ‘ट्राफिक प्रहरी–सीएमटी’ लेखिएको प्लोरोसेन्ट ज्याकेट लगाएर आफ्नो जिम्मेवार करिडोर सडकमा मोटरसाइकलमा निरन्तर अनुगमन गर्नेछ ।
महाशाखाले करिडोर सडकहरूमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शीघ्र ट्राफिक परिचालन तथा अव्यवस्थितरूपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यसहित छुट्टै डेडिकेटेड टिम परिचालन गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनका अनुसार यो टिमले आम सवारी चालकहरूलाई आफ्नो गन्तव्यसम्म पुग्नका लागि छोटो र सहज तरिकाले करिडोर सडक प्रयोग गर्न प्रोत्साहन समेत गर्नेछ । मुख्य सडकको चोक जंक्सनको क्यूमा बस्नुपर्ने विकल्पको रूपमा करिडोर सडक प्रयोग गरी समय तथा इन्धनको समेत वचत हुने अपेक्षा रहेको उनले बताए ।
करिडोर सडकको प्रयोगले मुख्य सडकमा हुने सवारी चापमा कमी ल्याउनुको साथै सवारी आवागमन तथा ट्राफिक व्यवस्थापनमा समेत सहजता प्रदान गर्ने महाशाखाको अपेक्षा छ । यो टिमले आफ्नो जिम्मेवार इलाकामा निरन्तर अनुगमन गरी सवारी आवागमनमा सहज बनाई करिडोर सडकको सुचारू गर्ने, पुल तथा जक्सनको क्रसिङमा हुने चाप/क्यूलाई व्यवस्थापन गर्ने, जथाभावी पार्किङ गर्ने प्रवृत्तिलाई निरूत्साहित गरी करिडोर सडक प्रयोग गर्ने परिपाटीको विकास गरी प्रयोगकर्तालाई प्राथमिकता दिई व्यवस्थापन गरिने महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए ।