काठमाडौं ।
कुमारी बैंक लिमिटेडले र उपाय सिटी कार्गो प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । बैंकका अनुसार नगदमा आधारित कारोबार तथा भुक्तानीलाई नगदहित बनाउने उद्देश्यले कुमारीले उपाय सिटी कार्गोसँग सम्झौता गरेको हो ।
बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप राणाको सभापतित्वमा उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीे, एफवान सफ्ट इन्टनेशनलका विश्वास ढकाल र यूके एडअन्तर्गतको सीपका नेपाल प्रमुख बल्जित बोहराको आतिथ्यतामा सहकार्यको आधिकारिक हस्ताक्षर भएको थियो ।
उपाय सिटी कार्गोसँग आबद्ध पिकउप ड्राइभर पार्टनरहरूलाई क्यूआर कोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले सञ्चालित ढुवानी व्यवसायलाई अझव्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सिटी कार्गोको मूल उद्देश्य रहेको छ ।
यस सहकार्यअन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरूलाई सुविधाका साथै सहुलियत कर्जा, जीवन बीमा, न्यूनतम डाउन पेमेन्ट र ईएमआई पेमेन्ट अप्सनलगायतका थप सेवा सुविधाहरू प्रदान गर्ने भएको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य तथा नीतिअनुरूप नगद कारोबारलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्न आयोजित उक्त कार्यक्रमले बैंकिङ सेवा क्षेत्रमा आउँदो डिजिटल आयामको संकेत दिएको छ ।