काठमाडौं ।
बढी आयकर तिरेकोमा नबिल बैंक पाँचौँ पटक सम्मानित भएको छ । आर्थिक वर्ष २०७५/७६ मा बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको हो । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो ।
विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकलाई बैंकहरूमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने सूचीमा नबिल बैंकलाई राखेको थियो । मंसिरमा कोभिडको भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भने भएको थिएन । पछिल्लो १० वर्षमा नबिल बैंक उच्च कर भुक्तानी गर्नेमा यो पाँचौँ पटक हो । समृद्ध मुलुक निर्माणका लागि बैंकले आफ्नो तर्फबाट सरकारलाई योगदान पु-याएकोमा गर्व महसुस गरेको जनाएको छ । बैंकले व्यापार प्रवर्द्धन, रोजगारी सिर्जना र ट्याक्सको रूपमा राज्यको योगदानमा केन्द्रित रहेको छ ।
नबिल बैंक मुलुकको धेरै बैंकिङ गतिविधिहरूको लागि पायोनियर बैंक हो । बैंकको गतिविधिमार्फत अर्थव्यवस्थालाई उकास्ने मात्र गरेको छैन । जनताको जीवनयापन र उनीहरूको आर्थिक वृद्धिलाई समेत व्यापक पहुँच पु-याइरहेको छ । नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १५ अर्ब छ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको कुल पुँजीको एक दशलमव पाँच गुना बढी हो ।
नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म एक हजार आठ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना राज्य र लगानीकर्तालाई आर्थिक योगदान पु-याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको छ ।
स्थापना भएदेखि हालसम्म बैंकले १८ सय ७५ प्रतिशत लाभांश वितरण गरेको हो । बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले पनि लगातार दोस्रो पटक नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’द्वारा पुरस्कृत गरिसकेको छ । र हालै ग्रोथ सेलरमार्फत कर्मचारी अनुभवमा उत्कृष्ट अवार्ड समेत प्राप्त गरेको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समयानुकूल सेवा प्रदान गर्दै आएको नबिलको एक सय १९ शाखा, एक सय ८५ एटीएम, १५ सयभन्दा बढी नबिल रेमिट एजेन्ट रहेको छ । बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको जानकारी दिएको छ ।