काठमाडौं ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले थप नौवटा नयाँ शाखा विस्तार गरेको छ । संस्थाले ग्रामीण क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै शाखा विस्तार गरेको जानकारी दिएको छ । नयाँ शाखा कार्यालयहरूको समुद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले गरेका हुुन् ।
शाखा प्रदेश १ को डायनिया (मोरङ), हरिनगर (सुनसरी), खिजी फलाँटे (ओखलढुंगा) प्रदेश २ को माधवनारायण (रौतहट), जावख (महोत्तरी) कविलासी (सर्लाही), दहिपौडी (सिरहा), विष्णुपुर (सप्तरी) प्रदेश ५ को बैकुण्ठपुर (रूपन्देही) रहेका छन् । सोही समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले संस्थाले लघुवित्त सेवासुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा स्थानीयलाई सहयोग पु-याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरूलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
साथै, संस्थालाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र संस्थाप्रतिको भरोसाले गर्दा देशभर हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको संस्थाले जनाएको छ । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको संस्थाको नयाँ शाखा विस्तारसँगै अब देशभर ६१ जिल्लामा शाखा संख्या एक सय ३० पुगेको छ । (आर्थिक दैनिकबाट)