काठमाडौं ।
मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि सुरु भएको छ । गोपिगञ्ज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरूमा क्यूआर कोडबाट अनलाइन नै भुक्तानी गर्न मिल्ने भएको छ र यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुवैले लाभ लिन सक्नेछन् ।
यो कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरूले भाडाबापतको रकम रिक्सामा भएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । क्यूआर कोडबाट सुरक्षितरूपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरूले अटो रिक्साका चालकहरूलाई आवश्यक प्रशिक्षण समेत गरेका थिए ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।