काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाकालदेखि नै जीवन बीमा व्यवसायलाई विस्तृतरूपमा हरेक नेपालीको पहुँचमा पु-याई बीमाको सचेतना बढाउने उद्देश्यले विभिन्न विद्यालय तथा कलेजहरूमा ‘विद्यार्थीसँग बीमा’ कार्यक्रम गर्दै आइरहेको छ । कम्पनीका ब्रान्ड एम्बेस्ड मदनकृष्ण श्रेष्ठद्वारा उद्घाटन गरिएको सो कार्यक्रम सर्वसाधारणका लागि निकै नै सचेतनामूलक र लाभदायी देखिएको छ । यस कार्यक्रमले गाउँ–गाउँमा बीमाप्रति जनचेतना जगाउँन निकै मदत पुगेको कम्पनीले जनाएको छ ।
जीवन बीमाको दायरा फराकिलो बनाउने उद्देश्यका साथ अघि बढ्दै कम्पनीले पहिलो वर्ष ३० वटा विद्यालय र कलेज गरी करिब ५४ सय विद्यार्थी, दोस्रो वर्ष ८७ वटा विद्यालय र कलेज गरी १९ हजार गर्दै अहिले तेस्रो वर्षमा आइपुग्दा करिब ४० वटा विद्यालय र कलेज गरी सात हजार दुई सयभन्दा बढी विद्यार्थीलाई बीमासम्बन्धी ज्ञानजस्तै बीमा के हो, बीमा किन जरुरी छ, यसबाट के–कस्ता फाइदा लिन सकिन्छ र यस्का अन्य सम्बन्धित सुरक्षा योजनाहरूको बारेमा सचेत गराउन सफल भएको छ ।
कम्पनीका विभिन्न शाखा कार्यालयहरूले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने विद्यालय तथा कलेजहरूमा सो कार्यक्रम आयोजना गर्दै आइरहेका छन् । विद्यार्थीहरू सचेत हुँदा उनीहरूले आफ्नो घरमा रहेका सम्पूर्ण परिवारका सदस्यलाई जीवन बीमाको महत्वबारे बुझाउन सक्नेछन् र बेला छँदै जीवन बीमा गरे बीमा शुल्क पनि कम हुने र सोही कम शुल्कले नै ठूलो जोखिम न्यूनीकरण हुने हुनाले कम्पनीले विद्यार्थीहरूलाई पहिले सचेत गराउनु उचित ठानेको जनाएको छ ।
समाजमा छरिएर रहेको स–सानो बचतलाई बीमा शुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका विभिन्न परियोजना निर्माण गर्न आवश्यक पुँजी जुटाउन जीवन बीमाले महत्वपूर्ण योग्दान पु-याउनुका साथै देशको राजस्व संकलन र आर्थिक उन्नतिमा समेत मदत पु-याएको छ । जीवन बीमा मात्र एक त्यस्तो भरपर्दो साधन हो जसले फजुल खर्च गर्नबाट बचाउँछ । साथै विभिन्न अनिश्चितताले भरिएको मानव जीवनमा जीवन बीमाले जोखिम हस्तान्तरण गराउने र क्षतिपूर्तिका माध्यमबाट जोखिम व्यवस्थापन गर्ने कार्य समेत गर्दछ ।
साथै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरूलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियानजस्ता विभिन्न कार्यक्रमहरूलगायत नवीनतम बीमा योजना र व्यावसायिक तथा दक्ष सिटिजन लिडरहरूसहितको सिटिजन टिममार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।