काठमाडौं ।
आईएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीकारूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा बिहीबार आयोजित एक समारोहबीच नेपाल सरकार, अर्थ मन्त्रालयका राजस्व सचिवज्ञ रामशरण पुडासैनीले आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गरेका हुन् ।
आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आईएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनीमा पर्न सफल भएको हो । बिहीबार आन्तरिक राजस्व कार्यालयले एक समारोहबीच सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा आईएमई रेमिटलाई सम्मान गरेको हो । यो कुराको घोषणा गत मंसिरमा कर दिवसको उपलक्ष्यमा गरिए पनि कोभिड १९ कारण कार्यक्रमहरू गर्न बन्देज लगाइएकोले सम्मानको कार्यक्रम औपचारिकरूपमा हुन सकेको थिएन । यसअघि आईएमईलाई लगातार तीन पटकसम्म नेपाल सरकारले यो सम्मान प्रदान गरिसकेको छ । नवौँ राष्ट्रिय कर दिवसका अवसरमा आज आईएमईसहित ती कम्पनीहरूलाई सम्मान प्रदान गरिएको छ ।
श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिट्यान्स बैंकिङ सञ्जालमार्फत नेपाल भित्र्याउने उद्देश्यले आजभन्दा २० वर्षअघि स्थापित आईएमईलाई नेपालको समग्र रेमिट्यान्स व्यवसाय संस्थागत गरेको श्रेय जान्छ । आईएमई विदेशबाट बैंकिङ च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको पहिलो कम्पनी हो । नेपालको रेमिट्यान्स क्षेत्रको यो अगुवा संस्थाका कारण वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीलाई आफ्नो घरमा पैसा पठाउन सजिलो भएको छ ।
संसारका विभिन्न देशमा रहेको यो कम्पनीको यही सेवाका कारण धेरैजसो विदेशमा तथा स्वदेशमै रहेका नेपाली नागरिकहरूमाझ पनि आईएमई गर्ने भन्ने एउटा पर्याय नै भएको छ । आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु-याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २०औं वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी दुई सय २५ आईएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा दिइरहेको छ ।