पेरिस ।
विभिन्न वनस्पति र जीवजन्तुको अवशेषबाट प्राकृतिक रुपमा प्राप्त हुने इन्धन उत्पादन गर्ने कम्पनीहरुले १० वर्षमा एक खर्बभन्दा धेरै डलर गुमाएका छन् । फोसिल फ्युल अर्थात् प्राकृतिक इन्धन उत्पादनसँग सम्बन्धित जारी हुने सेयर तथा यससम्बन्धी कम्पनीले बितेको १० वर्षमा एक खर्ब २३ अर्ब अमेरिकी डलर नोक्सानी व्यहोरेको एएफपीले जनाएको छ ।
वर्ल्ड इक्विटिज इन्डेक्समा ५२ प्रतिशतले यी कम्पनीहरुको अवस्था ओरालो लागेको हो । प्राकृतिक इन्धनमा कोइला, कच्चा तेल र प्राकृतिक ग्यास पर्छन् । बुधबार यसबारे प्रकाशित विश्लेषणअनुसार यसको तुलनामा नवीकरणीय ऊर्जा क्षेत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)ले नयाँ उचाइ प्राप्त गरेको छ ।
औद्योगिक क्षेत्रको बौद्धिक समूह कार्बन ट्र्याकरका अनुसार हाइ कार्बन इनर्जी क्षेत्रका लगानीकर्ताले ठूलै नोक्सानी भोगेका हुन् । सन् २०१० देखि २०२० सम्ममा फोसिल फ्युलतर्फका सार्वजनिक निष्काशन ८५ प्रतिशतले अर्थात् ७० अर्ब डलरबाट १० अर्ब डलरमा घटेको छ । यही समयमा नवीकरणीय क्षेत्रको सार्वजनिक निष्काशन कीर्तिमानी ११ अर्ब डलरको भएको छ ।
त्यस्तै यो अवधिमा यस्तो इन्धन उत्पादक, पाइपलाइन र सेवा प्रदायकले जारी गरेको करिब ६ खर्ब ४० अर्ब डलरको सेयरमात्रै लगानीकर्ताले खरिद गरेका छन् । यो भनेको कुलमध्ये २० प्रतिशत कम भएको उल्लेख गरिएको छ ।