मनिला ।
फिलिपिन्समा लकडाउनको अवधि फेरि थप गरिएको घोषणा गरिएको छ । राष्ट्रपति रोड्रिगो डुटेर्टेले अझ कडा लकडाउन लागु गर्ने निर्णय गरेका हुन् । राजधानी मनिला महानगरपालिका र छिमेकी क्षेत्रमा लकडाउन थप गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । कोरोनभाइरसको महामारी थप फैलिँदै गएकाले त्यसलाई न्युनिकरण गर्ने उद्धेश्यले लकडाउनको अवधि फेरि थप्नु परेको सरकारी अधिकारीहरुको भनाइ छ ।
राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले शनिबार टेलिभिजन मार्फत दिएको जानकारी अनुसार सरोकारवाला र विज्ञहरुले लकडाउन फेरि थप्न आवश्यक भएको निष्कर्ष निकाल्दै लकडाउनको अवधि थप्न सुझाव दिदै सिफारिस गरेकोले थप गरिएको हो । देशको लागुना, बुलाकान, काभित र रिजाल क्षेत्रमा लकडाउनको अवधि लम्बिएको पनि उनले जानकारी दिए । एक हप्ते लकडाउन आइतबार सकिनेछ ।
दक्षिण एसियाली मुलुक फिलिपिन्समा शनिबार मात्रै १२ हजार पाँच सय ७६ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ । यसअघि गत शुक्रबार एकैदिनमा १५ हजार तीन सय १० जना संक्रमित भएका छन् । यो संख्या दैनिक संक्रमितहरुको संख्यामा दोस्रो धेरै भएको जनाइएको छ । फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसबाट सात लाख ८४ हजार ४३ जना संक्रमित भएका छन् भने १३ हजार चार सय २३ जनाको मृत्यु भएको छ ।